दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठीपीडित किसान र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । स्वर्गद्वारी गुठीपीडित किसानहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै दाङको घोराहीमा रहेको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका थिए ।
उनीहरुले कार्यालय घेरेका थिए । प्रहरीले कार्यालय खुलाउने क्रममा बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीका अनुसार अप्रिय घटना हुन नदिन १० राउन्ड अश्रुग्याँस प्रहार गरिएको हो । हाल स्थिति नियन्त्रणमा रहेको छ भने घाइतेलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ ।
सरकारले आफूहरुसँग पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप तालाबन्दी गर्नुपरेको गुठीपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताएका छन् ।


















