भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन् । उनले चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्सहित आफ्नो राजीनामा पनि बुझाए । राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री तथा केन्द्रीय मन्त्रिपरिषद्बाट नयाँ सरकार नबनुन्जेल पदमै रहन अनुरोध गरिन् ।
मंगलबार सार्वजनिक लोकसभाका ५४३ सिटकै नतिजाअनुसार मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री हुने अवस्थामा पुगेका छन् । भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई २९२ अर्थात् लोकसभामा बहुमत मिलेको छ ।
भारतीय जनता पार्टीका उम्मेदवारले २४० लोकसभा सिट जिते । तर यस पटकको चुनावमा भाजपा एक्लैले बहुमत ल्याउन सकेन । २७२ सिट चाहिनेमा भाजपा २४० मै समेटियो ।
अब सरकार गठनका लागि एनडीए गठबन्धनका अन्य दलसँग सहयोग माग्नुपर्ने भएको छ । यसअघि भाजापा एक्लैले सन् २०१९ मा ३०३ र २०१४ मा २८२ सिट जितेको थियो ।

















