फ्रान्समा बढ्दो महँगी, न्यून पारिश्रमिक र सार्वजनिक सेवामा सरकारी कटौतीको विरोधमा एकै दिन झन्डै ६ लाख मानिस सडकमा उत्रिएका छन्।
फ्रान्सको गृह मन्त्रालयका अनुसार बिहीबार देशभर भएका प्रदर्शनमा ५ लाख ७५ हजार मानिस सहभागी भएका थिए। गत सेप्टेम्बरदेखि सुरु भएको आन्दोलनयता एकै दिनमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन हो। यद्यपि, प्रदर्शनको आयोजक ट्रेड युनियन सिजिटीले भने देशभर १६ लाख मानिस सहभागी भएको दाबी गरेको छ।
प्रदर्शनमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, यातायात मजदुर, सरकारी कर्मचारी तथा विभिन्न ट्रेड युनियनका सदस्य सहभागी भएका थिए। राजधानी पेरिसमा मात्रै ६० हजार प्रदर्शनकारी सडकमा उत्रिएको गृह मन्त्रालयले जनाएको छ।
प्रदर्शनकारीले जीवनयापनको बढ्दो खर्च नियन्त्रण, तलब तथा पेन्सन वृद्धि, सार्वजनिक सेवामा लगानी र आर्थिक असमानता न्यूनीकरण गर्नुपर्ने माग राखेका छन्। प्रमुख ट्रेड युनियन सिजिटीले न्यूनतम पारिश्रमिक तत्काल १० प्रतिशत बढाउन माग गरेको छ भने सिएफडिटीले न्यूनतम मासिक तलबमा १०० युरो वृद्धि गर्नुपर्ने माग अघि सारेको छ।
विद्यार्थीहरूले शिक्षा क्षेत्रमा थप बजेट विनियोजन, विद्यालयको पूर्वाधार सुधार तथा विश्वविद्यालयमा थप २ लाख ५० हजार विद्यार्थी भर्ना गर्न सक्ने व्यवस्था गर्न माग गरेका छन्। विद्यालयको कमजोर पूर्वाधार र कक्षाकोठामा बढ्दो विद्यार्थी चापका कारण सुरु भएको आन्दोलनमा पछि ट्रेड युनियन र सन् २०१८ को ‘यल्लो भेस्ट’ आन्दोलनका समर्थकसमेत जोडिएका हुन्।
प्रदर्शनकारीले राष्ट्रपति इम्यानुएल म्याक्रोँ र उनको सरकारको राजीनामासमेत माग गरेका छन्। प्रदर्शनका क्रममा केही सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। गृह मन्त्रालयका अनुसार प्रहरीले ४४८ जनालाई नियन्त्रणमा लिएको छ भने झडपमा ५३ प्रहरी घाइते भएका छन्।
लियोँमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो। रेनेसमा प्रदर्शनकारीले एउटा होटलमा तोडफोड गर्नुका साथै प्रहरीमाथि वस्तु प्रहार गरेका थिए। टुलुज नजिकै एउटा विद्यालयमा आगजनी भएको थियो। देशभर भएका ८६ वटा आगलागीका घटनामा अग्निनियन्त्रक परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।
बिहीबारको प्रदर्शनमा अघिल्ला आन्दोलनको तुलनामा ठूलो हिंसा भने देखिएन। अक्टोबर १७ मा भएको प्रदर्शनमा सरकारी अनुमानअनुसार ५ लाख ५० हजार मानिस सहभागी भएका थिए।
देशव्यापी हडतालका कारण विद्यालय, विश्वविद्यालय तथा रेल सेवा प्रभावित भएका थिए। सरकारले विद्यालयका करिब १३ प्रतिशत कर्मचारी हडतालमा सहभागी भएको जनाएको छ। सार्वजनिक अस्पतालका करिब ५ प्रतिशत कर्मचारी मात्रै हडतालमा सहभागी भएकाले स्वास्थ्य सेवा भने ठूलो रूपमा प्रभावित नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रदर्शनकारीले आगामी दिनमा पनि आन्दोलन जारी राख्ने बताएका छन्। ‘यल्लो भेस्ट’ आन्दोलनका समर्थकले शुक्रबार र शनिबार थप प्रदर्शन गर्ने तयारी गरेका छन्। केही प्रदर्शनकारीले आगामी राष्ट्रपतीय निर्वाचनसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
फ्रान्समा आगामी वर्ष राष्ट्रपतीय निर्वाचन हुँदैछ। राष्ट्रपति म्याक्रोँले लगातार तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन पाउने छैनन्। बढ्दो महँगी, सार्वजनिक ऋण र सरकारी खर्च कटौतीको योजनालाई लिएर सरकारमाथि दबाब बढिरहेका बेला देशव्यापी प्रदर्शनले फ्रान्सको राजनीतिक वातावरण थप चुनौतीपूर्ण बनाएको छ।

















