भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताएकी छन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा आयोजित दुई देशीय पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा नगरप्रमुख दाहालले दूरीका हिसाबले ठोरी-केरुङ नाका सबैभन्दा छोटो भएकाले नेपाल, भारत र चीन तीनवटै मुलुक जोड्ने यो नाकाबाट लाभ लिनेतर्फ काम गर्न आवश्यक भएको बताइन् ।
उनले भनिन्, ‘ठोरी छोटी भन्सारलाई व्यापारिक दृष्टिकोणबाट नभई पर्यटकीय हिसाबले आउने पर्यटकको सहजताका लागि दुई महिनाअगावै सञ्चालनमा ल्याएका छौँ । भारतीय पर्यटकले प्रयोग गर्ने उताका सवारीसाधनलाई अस्थायी अनुमति लिन वीरगञ्ज धाउनुपर्ने बाध्यता थियो, अब त्यो सेवा ठोरी छोटी भन्सारबाटै प्रवाह भएको छ । यसले पर्यटकीय गतिविधिमा ठूलो फाइदा पुर्याएको छ ।’
वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी साही मीनाले भारत र नेपालबीच सदियौँदेखिको सांस्कृतिक एवं धार्मिक सम्बन्धलाई दुवै देशका धार्मिक तथा पर्यटकीय गन्तव्यमा भारतीय र नेपालीले भ्रमण गर्नुपर्नेमा जोड दिइन् । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले केही समय यता ठोरी नाकाबाट भारतीय पर्यटकको सङ्ख्या बढिरहेको बताउँदै उनीहरूलाई भ्रमणमा प्रोत्साहन गर्न सम्बद्ध सबैलाई अनुरोध गरे ।


















