उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले थप कागजपत्र माग गरेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज सोमबार सुनुवाइ सकेपछि उक्त प्रकरणमा थप कागजपत्र मगाउन आदेश गरेको हो ।
सर्वोच्चले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा आवश्यक मिसिलहरू प्राप्त नभएकाले उक्त मिसिलहरू मगाउने आदेश गरेको हो । यससँगै लामिछानेविरुद्धको मुद्दा लम्बिने भएको छ । न्यायाधीशद्वयको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगी प्रकरणमा दर्ता गरिएको उजुरी दर्ता किताब, कास्की प्रहरीमै दर्ता भएको अभियोगपत्र, सरकारी वकिल कार्यालय रुपन्देहीले दर्ता गरेको अभियोगपत्र पनि झिकाउन आदेश दिएको छ ।
त्यसैगरी सर्वोच्चले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदन झिकाउन भनेको छ ।

















