असल काम गर्नु नै धर्म हो

जम्बाला लामा ( जे बी लामा ) उपाध्यक्ष बौद्ध जागरण केन्द्र

जम्बाला लामा ( जे बी लामा ) लामो समयदेखि धार्मिक तथा सामाजिक कामहरुमा सक्रिय ब्यक्तित्व हुनु हुन्छ । धर्म भनेको असल काम गर्नु हो भन्ने मान्यता राख्ने लामाले आफुले गरेका असल काम धर्मले गर्दा गरेको बताउनु हुन्छ । कर्मले गर्दा मानिस कोही डाक्टर, कोही पाइलट, कोही प्रधानमन्त्री बनेजस्तै आफु समाजसेवी बनेको बताउनु हुन्छ ।उहाँले गरिब दु:खी, असहायलाई सेवा गर्नु समाज सेवा हुने पनि बताउनु हुन्छ । धार्मिक तथा सामाजिक कामहरुमा सक्रिय ब्यक्ति भएकोले राजनीतिबारे बोल्न रुचि नहुने बताउदै लामाले भन्नु भयो , राजनीतिमा लाग्नेले चुनावको बेला जनता समक्ष व्यक्त गरेका बाचाहरु पूरा गर्नु पर्नेमा अहिले दलहरु एउटाले अर्कोलाई सत्ता अर्थात सरकारबाट खसाल्ने खेलमा मात्र व्यस्तछन यो राम्रोकाम होईन ।

तपाई लामो समयदेखि धार्मिक तथा सामाजिक कामहरुमा सक्रिय हुनुहुन्छ, धार्मिक र सामाजिक कार्यमा लाग्ने इच्छा कसरी जाग्यो ?

म धार्मिक कार्यमा लाग्नुको कारण भनेको र्धमले गर्दा नै हामी मानव जन्मियौं भन्ने मेरो मान्यता हो । यसमा दुई वटा कुरा आउँछन् । एउटा धर्म र अर्को कर्म । मान्छेले जे काम गर्छ त्यो कर्म हो । धर्मले गर्दा मानिस ठूलो हुन्छ, कर्मले गर्दा मान्छे सानो ठूलो दुबै हुन्छ । असल काम गर्यो भने महान मान्छे बन्छ । चोरी, डकैती, ठगी जस्ता खराब कार्य गर्यो भने खराब मान्छे हुन्छ । त्यसैले धर्मले प्रधानमन्त्री बन्न सक्छ, कर्मले प्रधानमन्त्री बनेको व्यक्ति भ्रष्टाचारी बन्न सक्छ ।
धार्मिक क्षेत्रमा लागेर तपाईले के कस्ता कामहरु गर्नु भयो ?

धर्म भनेको असल काम गर्नु हो । मैले जतिपनि असल काम गरेको छु, त्यो धर्मले गर्दा नै गरेको हुँ । त्यसैगरी दया माया गर्नु पनि धर्म हो । मैल सबैलाईे दयामाया गर्दै आएको छु । धर्म भनेको औषधी जस्तो हो । यसको फल राम्रो हुन्छ । अधर्म भनेको विष जस्तो हो, यसको फल नराम्रो हुन्छ । जन्म र मरण स्वभाविक प्रक्रिया हो, जन्म लिएपछि असल काम गर्नु पर्यो । मान्छे हिन्दु, क्रिश्चियन, बौद्ध जुनसुकै धर्मालम्बी हुनसक्छ । जे भएपनि चित्त शुद्ध र ऋषि मन हुनुपर्दछ । मन्दिर, मस्जिद, गुम्बा धाएर मात्र धार्मिक भईदैन । धार्मिक हुनलाई सत्कर्म गर्नु पर्दछ ।

असल कर्मलाई धर्म भने पनि आम मान्छेहरु त मन्दिर, मस्जिद धाउने, पुजाआजा गर्ने, जस्ताकामलाई धर्म गरेको भन्छन् नि ?

यो सही होइन । तपाई भारतमै हेर्नुस न, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर बनाउदा म भगवानको सन्तान हुँ भन्ने खालको घमण्ड देखाए तर त्यही घमण्डका कारण चुनावमा राम्रो मत आएन । राम्रो मत नआउनुको कारण भनेको मोदीको अहंमपूर्ण व्यवहारले गर्दा हो ।
तपाई त सामाजिक कार्यहरुमा पनि सक्रिय रहदै आउनु भएको छ, होइन र ?

धर्मले गर्दा हामी जन्मियौं, कर्मले गर्दा हामी कोही डाक्टर, पाइलट, प्रधानमन्त्री बन्यौं । समाजसेवा भनेको कर्म हो । गरिब दु:खी, असहायलाई सेवा गर्नु समाज सेवा हो । जो धनी, सम्पन्न छन्, तिनीहरुलाई सहयोग गर्नु जरुरी छैन ।म बौद्ध जागरण केन्द्रको सदस्य बनेको २८ वर्ष भयो, अहिले उपाध्यक्ष छु । कान नसुनेकोले अध्यक्ष भइन नत्र अध्यक्ष बन्ने थिए ।
राजनीतिमा कत्तिको चासो छ ?
चासो त छैन । तर राजनीतिज्ञलाई सुझाव दिन चाहन्छु । चुनावमा राष्ट्रको ठूलो धनराशी खर्च गरेर नेताहरु चुनिएर आउनु भएको छ । उहाँहरुले चुनावको बेला जनता समक्ष व्यक्त गरेका बाचाहरु पूरा गर्नुपर्छ तर अहिले त उहाँहरुले एउटाले अर्कोलाई सत्ता अर्थात सरकारबाट खसाल्ने खेलमा मात्र व्यस्त हुनुहुन्छ, यो राम्रो भएन । त्यसैगरी एमाले अध्यक्ष केपी ओलीले अरुलाई उखानटुक्का मार्फत तिब्र प्रहार गर्नु हुन्छ । यत्रो ठूलो दलको नेताले अरुलाई छुस्सछुस्स हान्नु भन्दा जनताले चाहेजस्तो काम गरे हुन्थ्यो । त्यसैगरी रबि लामिछानेले सहकारीको पैसा खाएको कुरा आएको छ । उहाँलाई केपी ओली जस्तो नेताले जोगाउनुको कारण के हो ? के पी आलीले माधव नेपाल, झलनाथ, बामदेव, भिमरावल जस्तालाई लात हान्ने र रबिलाई बोकेर हिड्ने गरेको मलाई ठिक लागेको छैन । म कुनै पार्टीमा आवद्ध छैन । म धार्मिक र सामाजिक अभियान्ता हुँ । यो त कोही नबोलेका कारण म बोलेको हुँ । कुनै पार्टीको बहुमत होस कि नहोस सबै मिलेर देश बनाउन लाग्नु पर्ने होइन र ? यस्तो मठ मन्दिरले भरिएको देशमा सबै असल काम गर्न लाग्नु पर्ने हो । तर, यहाँ त गिरिबन्धु टिस्टेटलाई जोगाउन लागे ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
तीन करोड जनतालाई एकतावद्ध भएर राष्ट्रको पक्षमा लागौं भन्न चाहन्छु । नेताहरुलाई कसैलाई घोचपेच गर्ने होइन देशलाई कसरी सही रुपले अगाडि बढाउने, शिक्षा, स्वास्थ्य, कृषिलाई कसरी सुधार गर्ने, परनिर्भरता कसरी कम गर्ने? त्यसमा लागौं भन्न चाहन्छु । त्यसैगरी मधेशवादी दलपनि जनताको चाहनानुरुप चलेका छैनन्, फोहोरी खेलमा लागेका छन्, यसो नगर भन्ने सुझाव दिन्छु ।