संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ ।
आज पनि सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेश गर्ने छन् । कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह, प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।
त्यसैगरी, दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमामाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यतालिका रहेको छ ।


















