काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोलले आज उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
काठमाडौं महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपैयाँ र जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी एक अर्ब ५० करोड रहेको उप-प्रमुख डंगोलले बताइन् । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि १९ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको पनि उनले बताइन् । यो कूल बजेटको ०.७९ प्रतिशत हो ।
त्यसैगरी, कार्यालय सञ्चालन र प्रशासन सञ्चालनका लागि तीन अर्ब ४९ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कूल बजेटको १४.४४ प्रतिशत हो । पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कूल बजेटको ६१.२० प्रतिशत हो । सामाजिक विकास क्षेत्रका लागि तीन अर्ब ८१ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन कूल बजेटको १५.७५ प्रतिशत हो ।


















