प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गरे । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटाका अनुसार प्रधानमन्त्रीले नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक रहेको बताएका छन् ।
उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल-२०२५’ मनाउने निर्णय गरेको जानकारी गराए । उनले नेपालको आर्थिक-सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उपविदेशमन्त्री सुन नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा भाग लिन आज नेपाल आएका हुन् । भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो भने चीनका तर्फबाट नेपालस्थित चिनियाँ राजदूत छेन सङलगायतका उच्च अधिकारी सहभागी थिए ।

















