लागु औषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँदैछौँ :गृहमन्त्री लामिछाने

बुधवार लागु औषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लागु औषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महसुस गरेको बताए ।

लामिछानेले लागु औषधको दुर्व्यसनीमा युवाहरूलाई फसाइदिई सकेपछि त्यो देशको दुर्गति सुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए । उनले देशमा रोजगारी नपाएर विदेश गएका कतिपय युवाहरू लागु औषधको दुर्व्यसनीमा फसेको बताए ।

लामिछानेले लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि चलिरहेका अभियानहरूमा पनि कतिपयले इमानदारितापूर्वक काम नगरेको भन्दै गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुने बताए ।

उपप्रधानमन्त्री लामिछानेले मधेसमा मात्र नभई पहाडी जिल्लाहरूमा समेत लागु औषधको दुर्व्यसनी फैलिएको बताए । उनले लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम बनाउन लागेको बताए ।