गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशबाट बन्चित गराइएको छ । माओवादीको कारबाहीमा परेका उनलाई आज मर्यादा पालकले बाहिरै रोकेका हुन् ।
गत २८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादी केन्द्रले उनलाई ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए ।
उता ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले देवकोटालाई सांसद पदबाट हटाएपछि देवकोटा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।
माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएको बताउँदै आएका छन् ।
देवकोटा जेठ २९ गते ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए । देवकोटा गण्डकी प्रदेश सभामा गोरखा क्षेत्र नम्बर २ (१) बाट निर्वाचित हुन् ।

















