मधेसमा डरलाग्दो अपराधको ग्राफ, नागरिक त्राहिमाम्

काठमाडौं– साँझको सवा ५ बजेतिर हरिभूषण कुशवाहा पुख्र्यौली घर बाराको खजुरियादेखि कलैया फर्किदै थिए । मोटरसाइकलमा सवार उनको परिवार कलैयामा थियो । तर, उनी कलैया पुग्नै पाएनन् ।

उनलाई मोटरसाइकलमै आएका नचिनेका दुई जनाले बतरा क्षेत्र पुग्दा गोली प्रहार गरे । उनी त्यहीँ ढले । गम्भीर अवस्थामा ब्योधा अस्पताल वीरगञ्ज पुर्‍याइएका उनको उपचारको क्रममा सोही दिन मृत्यु भयो । घटना गत ३२ जेठको हो । उनी कलैयामा रहेको रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख थिए । कुशवाहा हत्याकाण्डको अनुसन्धानको क्रममा प्रहरीले घटना हुनुको कारण जग्गासम्बन्धी विवाद भएको पत्ता लगायो । घटनामा संलग्न आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

क्याम्पस प्रमुख कुशवाहाको हत्या हुनुभन्दा डेढ महिना पहिले १७ वैशाखमा सप्तरीमा सुरक्षा गार्ड परशुराम फुयाँलको हत्या भयो । उनी नेपाल बैंक लिमिटेडमा कार्यरत थिए । उनको शव रक्ताम्य अवस्थामा फेला परेको थियो । बैंक लुट्ने प्रयोजनार्थ बैंकमा छिरेका चन्द्रबहादुर सुवेदीले नातामा ससुरा पर्ने फुयाँलको खुकुरी प्रहार गरी हत्या गरेको फेला पर्‍यो । उनी पक्राउ परिसकेका छन् ।

यी त भए मधेसमा घटेको हत्याजस्तो जघन्य प्रकृतिको अपराधको प्रतिनिधिमूलक घटना । पछिल्ला दिनमा मधेसमा हत्या, चोरी, तस्करी, डकैती, लागूऔषध कारोबारीजस्ता अनेक अपराधमा बढोत्तरी भएको तथ्याङ्कले देखाएको छ । बढ्दो अपराधले नागरिकहरू भने त्रासमा छन् । नेपाल प्रहरीकै तथ्याङ्कअनुसार मधेस प्रदेशमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १०२ जनाको हत्या भएको छ । त्यसमध्ये ५१ जना पुरुष, ३९ जना महिला, ७ जना बालिका र ५ जना बालक छन् ।

चालु आर्थिक वर्षमा सबभन्दा बढी सिरहा र सप्तरीमा १६–१६ जनाको हत्या भएको छ । सबभन्दा कम महोत्तरी र सर्लाहीमा ८–८ जनाको हत्या भएको हो । सिरहामा वैशाख महिनामा मात्रै ५ जनाको हत्या भएको प्रहरीको तथ्याङ्क छ । धनुषामा १५ जना, रौतहटमा १४ जना, बारामा १३ जना र पर्सामा १२ जनाको हत्या भएको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा मधेसमा ११५ जनाको हत्या भएको थियो भने । आर्थिक वर्ष २०७८/०७९ मा १०४ जनाको हत्या भएको थियो । मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुवासचन्द्र बोहराका अनुसार हत्याका अधिकांश घटना जग्गाजमिन र आर्थिक लेनदेनको विवादका कारण हुने गरेको छ ।

केही घटना चाहिँ तत्काल उठेको रिस थाम्न नसकेर पनि हुने गरेको उनको भनाइ छ ।‘घटनाको अनुसन्धान गर्दा के देखिन्छ भने अधिकांश हत्या घटना जग्गा जमिनको विषयमा उत्पन्न विवाद देखिन्छ । कतिपय आर्थिक लेनदेनको विषय छ । केही चाहिँ तत्काल उठेको रिस थाम्न नसकेर पनि घटना भएको देखिन्छ’, उनले भने, ‘केही घटना चाहिँ रिभिइबीले पनि भएको देखिएको छ ।’

आपराधिक घटना मधेसमा घटाएर संलग्नहरू सीमापारी भारत पुग्ने गरेका छन् । खुला सीमाको फाइदा आपराधिक तत्वहरूले उठाइरहेका छन् । प्रहरीले गर्न सक्ने पक्राउबाट जोगिन भारत जाने र त्यतै बसेर पनि नेपालमा अपराध समेत गराउने गरेको पाइएको सुरक्षा मामिलाका जानकारहरू बताउँछन् । अर्कातिर, अपराध बढ्नुमा सम्भावित अपराधको विषयमा प्रहरीले सूचना नपाउनुलाई पनि मान्ने गरिन्छ । किनभने जनताको जीउधनको सुरक्षा गर्ने जिम्मा नै प्रहरीको हो । तर, जहिल्यै प्रहरी घटनापछि मात्रै अनुसन्धान गर्न पुग्ने गरेको छ । सम्भावित आपराधिक घटना र त्यसका पीडितबारे प्रहरी बेखबर रहने गरेको छ । यसले गर्दा मधेसमा आपराधिक घटनाको ग्राफ बर्सेनी डरलाग्दो देखिएको छ ।

मधेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले दिनहुँजसो मधेसमा बढ्दो अपराध न्यूनीकरणको माग सरकारसँग राख्दै आएका छन् । यसबारे सरकारले भने चासो दिएको छैन । अहिले देशमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्नुपर्ने भूमिकामा उपप्रधान तथा गृहमन्त्रीका रुपमा रवि लामिछाने छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले ३२ जेठमै सय दिने कार्यकाल पूरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै अपराध नियन्त्रणमा प्रहरीको भूमिका सशक्त हुनुपर्ने बताएका थिए । तर, मधेसको सन्दर्भमा त्यस्तो भएन । हत्या, चोरी, लुटपाटजस्ता आपराधिक गतिविधि बढेको प्रहरीकै तथ्याङ्कले देखाएको छ ।

नेपाल प्रहरीका पूर्वएआईजी विजय कायस्थका अनुसार मधेसमा आपराधिक घटना बढ्नुमा खुला सीमा, आपसी रिसिइभी, जनचेतनाको अभाव र सम्भावित आपराधिक घटनाबारे प्रहरीले सूचना संकलन गर्न नसक्नुजस्ता कारक छन् । जेलबाट छुटेका अपराधी चरित्रका व्यक्तिमाथि निगरानी नहुनु हो । अर्को चाहिँ जेलबाट छुटेकालाई निगरानीमा नराख्दा पनि घटना हुने गरेको कायस्थलाई लाग्छ । ‘मधेसमा हुने हत्या घटनामा बन्दुक वा पेस्तोलको गोली प्रहार भएको देखिन्छ । यो भनेको खुला सीमाका कारण अपराधीले सीमापारी भारतबाट हतियार ल्याउने र नेपालमा आपराधिक घटना गर्न प्रयोग गरेको पाइन्छ’, उनले एस्.एन्.एन्. न्यूजसँग भने, ‘,रिसिइबी, जग्गा विवादसँगै अन्य कारणहरूले घटना हुने गरेको देखिन्छ ।’

उनले सीमा क्षेत्रमा निगरानी बढाउनुपर्ने बताए । कोही शंकास्पद देखिए नियन्त्रणका लागि प्रहरीलाई छिटो खबर गर्न पनि उनले सुझाए । मधेसमा बढ्दो अपराधले मधेसका सांसदहरू चिन्ति छन् । उनीहरूले सरकारलाई मधेस असुरक्षित हुँदै गएको र जनताको जीउधनको सुरक्षा गर्न दबाब दिइरहेका छन् । तर, लामिछाने नेतृत्वको गृह प्रशासनले यसबारे चासो दिएकै छैन । अपराधको ग्राफ बढिरहेको बेला लामिछाने बिन्दास देखिएको भन्दै आलोचना भइरहेको छ ।