विपक्षी दलहरूसँग बैठक बस्दै कांग्रेस, राष्ट्रिय सहमतिको सरकार बनाउनेमा जोड

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका छन् । कांग्रेसले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक देउवा निवास बूढानीलकण्ठमा बोलाएको हो ।

कांग्रेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् । कांग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले आज मंगलबार साँझ बैठक बस्ने जानकारी गराए ।

कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सोमबार सहमति बनेसँगै नयाँ सरकारमा सहभागी हुन सबै दललाई आह्वान गरिने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जनाएका छन् । उनले कांग्रेसले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधानमा आवश्यक संशोधन गर्नका लागि एमालेसँग सहमति गरिएको जनाए ।

एमालेसँग सहमतिपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका साथ संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न संशोधन प्रक्रियामा जाने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले केपी शर्मा ओली र शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गरिने बताए ।