गृहमन्त्री लामिछानेको निलम्बन मागको रिटमा आज जबाफी बहस हुने

गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा आज बिहीबार पनि सुनुवाइ हुने भएको छ । आज केही अधिवक्ताले रिटमा जबाफी बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा आदेश हुनेछ ।

मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जबाफी बहस भएको थियो । अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ । रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ ।