प्रधानमन्त्रीलाई भेटेपछि रास्वपाका मन्त्रीहरुद्वारा तत्काल राजीनामा नदिने निर्णय

राजीनामाको तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगको भेटपछि राजीनामा नदिने निर्णय गरेका छन् । प्रधानमन्त्री दाहालसँगको छलफलपछि उनीहरुले राजीनामा दिने निर्णय केही समयका लागि स्थगन गरेका हुन् ।

आज बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले संसद् फेस गर्ने तयारीमा रहेको भन्दै लामिछाने र अर्याललाई साथ दिन आग्रह गरेका थिए ।

रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीको संवैधानिक अधिकारलाई सम्मान गरेर राजीनामा नदिएर फर्किएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम जसरी अघि बढेको छ, संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद् फेस गर्छु भन्नुभएको छ । उहाँको संवैधानिक अधिकारको सम्मान गर्दै हामीले कमसेकम उहाँले सदनलाई फेस गर्दासम्म साथ दिने गरी राजिनामा स्थगन गरेका हौँ ।’ आफुहरुले चाँडोभन्दा चाँडो संसदको फेस गर्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेको उनले बताए ।

रास्वपाबाट वर्तमान सरकारमा पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री तथा सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छन् ।