प्लाइउड बनाउन प्रयोग गरिने भेनियर पत्ताको निर्यात बढ्यो

मेची भन्सार कार्यालय काँकरभिट्टा नाकाबाट चालु आवको ११ महिनामा ५० करोड २४ लाख चार हजार रुपैयाँको भेनियर पत्ता निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा एक हजार दुई सय ५७ प्रतिशत बढी भेनियर पत्ता निर्यात भएको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार गत आव २०७९/८० को जेठ मसान्तसम्ममा तीन करोड ७० लाख १४ हजारको भेनियर पत्ता निर्यात भएको थियो । नेपाल भेनियर उत्पादक सङ्घका महासचिव दिनेश शाक्यका अनुसार भारतमा माग उच्च भएपछि नेपालबाट प्लाइउड बनाउन आवश्यक पर्ने मुख्य कच्चापदार्थ भेनियर पत्ताको निर्यात बढेको हो । महासचिव शाक्यले भने, ‘केही वर्ष पहिले भेनियर पत्ताको व्यापार नेपालमा मात्रै हुने गथ्र्यो, यहाँ आर्थिक मन्दी सुरु भएसँगै भेनियर पत्ताको व्यापार भारततर्फ बढ्दा किसानलाई लाभ मिलेको छ ।’

पहाड तथा तराई क्षेत्रको निजी आवादी जग्गामा हुर्काइएका कमसल प्रजातिका उत्तिस, चिलाउने, कदम, पिठारो, मलातो, मौवालगायत रूखका काठलाई कच्चापदार्थका रुपमा प्रयोग गरी उद्योगले भेनियर पत्ता उत्पादन गरिरहेको भेनियर उत्पादक सङ्घका महासचिव शाक्यले बताए ।

उनले भने, ‘भेनियर पत्ता निर्यातबाट दैनिक लाखौँ राजस्व बुझाउने उद्योगलाई सरकारले निर्यातमा सहुलियत दिन सक्यो भने निर्यात बढ्न गई विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।’ नेपाल भेनियर उत्पादक सङ्घका अनुसार हाल नेपालमा एक सय ८० भन्दा बढी भेनियर उद्योग सञ्चालनमा छन् जसले ८० हजारभन्दा बढी मजदुरलाई प्रत्यक्ष/परोक्ष रुपमा रोजगारी उपलब्ध गराएका छन् ।