नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ । वीरगन्जबाट काठमाडौंतर्फ गइरहेको वाग्मती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सात जना गरी २४ जना रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराए ।
हालसम्म जिल्ला प्रशासन कार्यालयले सात जना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ । सोही मार्ग भएर काठमाडौंबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन । सो बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन् । पहिरोले बगाएका दुबै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।


















