कांग्रेस-एमालेले सहमति सार्वजनिक नगर्दा अन्योलता सिर्जना भयो: मुख्य सचेतक पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र तत्कालीन सत्तासाझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई दलबीच भएको भनिएको सहमति सार्वजनिक नगर्दा अन्योलता सिर्जना भएको बताएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज प्रतिनिधिसभाको बैठकमा राखेका विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै मुख्य सचेतक पाण्डेले उक्त दुई ठूला दलबीच भएको सहमति सार्वजनिक नहुँदा नागरिकमा अन्योलता उत्पन्न भएको बताए ।

सुशासन कायम गर्ने, पुँजीगत खर्च वृद्धि र उत्पादन वृद्धिमा सरकारले पहल लिइरहेको उल्लेख गर्दै उनले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक नगरेर नागरिकलाई झुक्याउन खोजिएको आरोप लगाए । सचेतक पाण्डेले प्रश्न  गर्दै भने, ‘पहिला नै भएको सहमति सार्वजनिक गर्नु पथ्र्यो, यसरी नेपाली जनतालाई झुक्याउन पाइँदैन, सत्ता साझेदारीसँगै संविधान संशोधनको विषय सार्वजनिक भएको छ । दुई दलबीच भएको भनिएको सम्झौता किन सार्वजनिक नगरेको ?’

राष्ट्रिय सहमतिका लागि सबै दलसँग छलफल हुनुपर्नेमा एक वा दुई दलले सत्ता साझेदारी गर्दैमा राष्ट्रिय सहमति हुन नसक्ने उनले धारणा राखे । ‘दुई दलबीच पहिला नै सहमति भएको थियो भन्ने देखिएको छ । त्यो आजसम्म पनि सार्वजनिक गरिएको छैन । के थियो त्यो सहमति ? किन लुकाइएको ? सहमतिमा के भएको छ, त्यो जनताले हेर्न नपाउने ? सांसदले सुन्न नपाउने ? दुई दलबीच  भएको सहमति आजसम्म सार्वजनिक नगरी किन गोप्य राखिएको ?’, मुख्य सचेतक पाण्डेले प्रश्न गरे ।

वर्तमान सरकारले जनसरोकारका सवाल सम्बोधन गरी सुशासनको अभियान तीव्र बनाएसँगै राजनीतिक समीकरण फेरबदल भएको सचेतक पाण्डेले बताए । वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवास तथा सुनको अवैध तस्करी प्रकरणमा  दृढताका साथ कारबाही अघि बढाएको उनले जानकारी दिए । जनताको त्याग र बलिदानको जगमा निर्मित संविधान संशोधन गरेर पश्चगमनतर्फ फर्कने खतरा बढेको उल्लेख गर्दै मुख्य सचेतक पाण्डेले संविधान संशोधन गरेर जनताको अधिकार कटौती गरिए सदन र सडकबाट प्रतिरोध गरिने बताए ।

उनले भने, ‘सदनबाट विश्वास पाए पनि नपाए पनि सहिद र बेपत्ताका साथै नेपाली जनताको सपना साकार पार्न माओवादी पार्टी निरन्तर लडिरनेछ ।’ वर्तमान सरकारले सम्पादन गरेका कामका सम्बन्धमा प्रधानमन्त्री दाहालले गरेका सम्बोधनको समर्थन गर्दै मुख्य सचेतक पाण्डेले विश्वासको मतका पक्षमा मतदान गर्न आह्वान गरे । सरकारले सुरुआतदेखि नै सुशासन, समृद्धि र सामाजिक न्यायको मूल मन्त्रलाई आत्मसात् गरेर सकारात्मक कामको थालनी गरेको उनले स्पष्ट पारे । मुख्य सचेतक पाण्डेले संविधानको रक्षा गरेर अघि बढ्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे ।