मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् । बेलबारी-चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो ।
वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ । बेलबारी-चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । उनले भने, ‘चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । हाल उहाँको उपचार भइरहेको छ ।’
वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न सक्ने अवस्था नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए । बेलबारी नगरपालिका-७, डाङ्गी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन ।

















