प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्न दल विशेष वा व्यक्तिको अनुहार नहेर्ने बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
राप्रपा सांसद सिंहले भ्रष्टाचार र सुनलगायतका काण्डका विषयमा प्रष्ट पार्न प्रधानमन्त्री ओलीसँग जवाफ मागेका थिए। उक्त प्रश्नको जवाफ दिँदै ओलीले सुशासन कायम गर्ने सरकारको पहिलो प्राथमिकता रहेकाले जुनसुकै काण्डलाई कानुनी दायरामा ल्याइने बताए। उनले भनेका छन्,‘भ्रष्टाचार निवारण सरकारको प्रमुख प्राथमिकताको विषय हो। सहकारी ठगी, सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्डलगायत विषयमा आम जनताको चाहना बमोजिम राष्ट्र हितका लागि सुशासन कायम गर्न सरकार प्रष्ट छ। ठूला साना जो भए पनि कानुनी दायरामा ल्याउँछौँ ।’


















