काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारकै क्रममा भागेका दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले हैजा आशंका लागेर परीक्षणमा गरिएको दुई जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकु तीन युवकलाई ल्याइएको थियो ।
हालसम्म हैजा संक्रमित ती युवकले आफ्नौ हिसाबले उपचार गरिएको जानकारी प्राप्त भएको डा..पौडेलले बताए । हैजा फैलन नदिन खोपको तयारीसँगै जनचेतनाको पाटो बढाउनुपर्ने विज्ञहरूको सुझाव छ । वर्षायाममा धेरै पानी पर्छ । पानीले थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ । दिसाका जिवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा संक्रमण गराउँछ ।
त्यसैले हैजा विरुद्धको खोपको दिन सरकारले आवश्यक तयारी चाल्नुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् । ‘जोखिमयुक्त ठाँउमा हैजाको खोपका दिन थाल्नुपर्छ । खोप ल्याउने कदम अगाडी बढाउनुपर्छ,’ डा. पुन भन्छन्, ‘संक्रमण फैलिएपछि नियन्त्रण गर्न सकिँदैन । भोलि अवस्था जटिल बन्नसक्छ ।’
२०६६ सालमा जाजरकोटमा फैलिएको हैजाबाट ३५० जनाको ज्यान गएको थियो । ६० हजारभन्दा बढीलाई उपचार गराउनु परेको थियो । त्यससमयमा सुर्खेत, दैलेख, रुकुम, रोल्पा लगायतका सात जिल्लामा हैजा देखा परेको थियो ।
काठमाडौं उपत्यकामा भने सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका छन् । तर काठमाडौं उपत्यका जहिले पनि जोखिममा रहने गरेको स्वास्थ्य विज्ञ बताउँछन् ।
हैजाका बिरामीले चौलानी पानीजस्तो दिसा गर्छन्, जसमा धेरै संख्यामा हैजाका कीटाणुहरू रहेका हुन्छन् । स्वस्थ व्यक्तिमा दूषित खाना वा पानी (हैजाका कीटाणु मिसिएको) को माध्यमबाट हैजाका कीटाणु शरीरमा (आन्द्रामा( प्रवेश गर्छन्। दूषित खाना वा पानी खाएको १२ घण्टादेखि ५ दिनसम्ममा रोगको लक्षण देखा पर्छ ।
केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।
काठमाडौंमा उपत्यकामा पिउने पानीलाई सुरक्षित बनाउने संयन्त्र राम्रोसँग विकास हुन नहुँदा पनि हैजा फैलिने गरेको उनी बताउँछन् ।



















