प्रारम्भीक शिक्षा र पूर्व प्राथमिक शिक्षा बारेमा नेपालमा कमै चर्चा हुने गरेको यसलाई बिषय बिज्ञको हिसाबले यसलाई कसरी बुझाउनु हुन्छ ?
प्रारम्भीक शिक्षा भनेको जन्मिदा देखि अर्थात सुन्य देखि ५ वर्षसम्मको शिक्षालाई भनिन्छ । ३ वर्षपछिको प्राथमिक शिक्षालाई पूर्व प्राथमिक शिक्षा भनेर भनिन्छ ।
प्रारम्भीक शिक्षा जुन ५वर्ष भन्दा कम उमेमा दिइन्छ र यो नागरीकको जीवनको आर्दशीलाको रुपमो पनि रहेका हुन्छ यसबारेमा नेपालमा खासै छलफल हुने गरेको छैन यसलाई कसरी लिनु हुन्छ ?
हाम्रो विडम्वना नै यही छ ,जसरी एउटा घर बनाउदा त्यसको जग जति बलियो बनायो घर त्यति नै बलियो हुन्छ । शिक्षामा पनि त्यस्तै हो शिक्षाको जगको रुपमा रहेको प्रारम्भीक शिक्षा राम्रो भएन भने त्यस भन्दा माथिको शिक्षा राम्रो हुँदैन । प्रारम्भीक शिक्षाको सुरुवात आमाको गर्भदेखि नै हुन्छ । राज्यले आमाको गर्भमा हुँदा नै बच्चाको बारेमा सोंच्नु पर्छ । गर्भमै हुँदा नै उचीत खानपान र जीवनशैली हुनुपर्छ । हाम्रोमा त्यस्तो केही छैन । सरकारी अस्पतालमा सुत्केरी भएका महिलालाई केही रकम दिन्छ भन्ने सुनेको छु त्यस बाहेक अरु केही छैन । म विश्व शिक्षक महासंघको इसिइ कार्यक्रमको दक्षिण एसिया बाट प्रतिनिधित्व गरेर ब्रसेसमा बसेर पनि काम गरे त्यहाँ बसेर काम गर्दा मैले के थाहा पाए भने प्रारम्भीक शिक्षा भनेको घरमा आमाबुवा परिवारले जन्मेदेखि नै दिने शिक्षा हो । आमाबुवा नै पहिलो शिक्षक हुन् त्यसैले घरमा के सिकाउने, कसरी हुर्काउने भन्ने कुराले बच्चाको भविष्यलाई निर्धारण गर्दछ । त्यसैले यसमा प्रयाप्त ध्यान दिनुपर्छ ।
प्रारम्भीक बालशिक्षा दिन शिक्षकहरु पनि दक्ष हुनु पर्दछ , हाम्रोमा प्रारम्भीक बालशिक्षा दिने शिक्षकहरु जति दक्ष हुनु पर्ने त्यति दक्ष छन् कि छैनन् ?
हाम्रो देशमा धेरै बुवाआमा अशिक्षित नै हुनुहुन्छ । जसका कारण उहाँहरुलाई प्रारम्भीक बालशिक्षाको बारेमा राम्री जानकारी नहुन सक्छ । राज्यले यो कुरालाई ख्याल गर्दै मन्टेश्वरी भन्नुस् वा पूर्व प्राथमिक विधालयमा शिक्षकहरु राख्दा दक्ष शिक्षकहरु राख्नु पर्छ । बच्चालाई कस्तो शिक्षा दिने, के खुवाउने, उनीहरुको स्वास्थ्यको खाल कसरी गर्ने, बच्चालाई मनोरञ्ंजन कसरी दिने यी सबै कुरा शिक्षकलाई थाहा हुनुपर्छ । हाम्रोमा यसतर्फ ध्यान दिएकोपाईदैन । अभिभावकलाई पनि काममा जानु पर्ने हुन्छ , केही पैसा तिरेर मन्टेश्वरीमा राखौं भन्ने छ । जसले मन्टेश्वरी चलाएका छन् उनीहरुलाई पनि बच्चाबच्ची आएमा आम्दानी हुन्छ भन्ने खालको सोंचाई छ । यी दुवै सोंचाई बालबालिकाका निम्ति उचित होइन । अभिभावक र मन्टेश्वरी संचालक दुवैले बालबालिकाको स्वास्थ्य, पोषणयुक्त खानेकुरा, उचित मनोरञ्जन र खेलकुद जस्ता विषयमा ध्यान दिनुपर्छ । यसमा कमै ध्यान पुगेको छ । तयस्तै दक्ष शिक्षकको पनि कमी छ ।
यी विषय अभिभावक र मन्टेश्वरी सञ्चालकका मात्र सरोकारका विषय हुन् कि यसमा राज्यको पनि दायित्व छ ?
राज्यले पनि यी विषयमा अनुगमन गर्नुपर्दछ । अहिले मन्टेश्वरी दर्ता गर्ने अधिकार स्थानीय तह अर्थात वडा कार्यालयलाई दिएको छ । वडा कार्यालयहरुले अलिअलि अंग्रेजीमा बोल्यो भने त्यो राम्रो छ भन्ने होइन कि विद्यालयको वातावरण खुवाउने कुरा, बोलिने भाषा लगायतका सबै विषय हेरेर राम्रो छ छैन भन्ने मूल्यांकन गर्नुपर्छ । केही मन्टेश्वरीहरु राम्रै सँग चलाई रहनु भएको छ भने केहीमा राम्रो वातावरण छैन । मन्टेश्वरीमा पढाउन पनि प्राप्त विज्ञता चाहिन्छ । पढाउनेहरुमा त्यो विज्ञता छ छैन सञ्चालकहरुले हेरेर काम गर्नु पर्दछ अनुगमन गर्ने निकायले संञ्चालकले गुणस्तर कायम गरेको छ छैन हेर्नु पर्छ ।
सरकारले सबैकालागि शिक्षा भनेको छ । प्रारम्भीक तहमा विद्यार्थी भर्नालाई प्रोत्साहित गर्न खाजा समेत दिने गरेको छ तर खाजाको रकम न्यून भएको र प्रारम्भीक तहमा शिक्षकको दरबन्दी समेत प्रयाप्त नभएको भनेर आवाज उठ्ने गरेको छ नी ?
खाजा के लाई भन्नु विस्कुट र चिया पनि खाजा हो । अलि कति चना भुटेर दिएपछि खाजा हो । हामीले हेर्ने भनेको बच्चालाई के खाजा दिए पौष्टिक आहार छ कि छैन, समयअनुसारको फलफूल छ कि छैन, खाने कुरा अर्गानिक छ कि छैन कतै मिति सकिएको खानाहरु दिएका छन् कि यी सबै हेर्नु पर्ने हुन्छ । अहिले दिएको रकमले पौष्टिक खाजा खान पुग्दैन ,त्यसैले सरकारले खाजाको पैसा दिएका छौं भन्ने विधालयले खाजा खुवाएका छौं भन्ने मात्र भएको छ बरु त्यहाँ भष्टचार भएको छ । जहाँ सम्म शिक्षक दरबन्दीको कुरा छ । शिक्षक दरबन्दी प्रयाप्त नभएको सत्य हो । २०८१को एसइई रिजल्ट हेर्दा पनि धेरै विद्यार्थी फेल भएको पाइयो । यसको कारण भनेको एउटा शिक्षक दरबन्दी अनुसार नहुनु पनि हो । कयौं विधालयमा वर्षैभरि विज्ञान र गणितका शिक्षक नै नभईकन विद्यार्थीले जाँच दिनु परयो । पढ्नै नपाई उनीहरुले विज्ञान र गणित कसरी पास गर्ने ? जसले गर्दा पनि विद्यार्थी फेल हुने दर बढ्यो । विद्यार्थी पास हुन समयमा पुस्तक पुराउने, दक्ष शिक्षकको उपलब्ध गराउने काम राज्यले गर्नुपर्दछ । यदि हामीले योग्य शिक्षक दिन सकेनौं भने योग्य विद्यार्थी उत्पादन हुँदैन योग्यता नभएपछि रोजगारीको लागि खाडी राष्ट्र जानु पर्ने बाध्यता हुन्छ ।
परिक्षाको रिजल्ट राम्रो नआउने समस्या आफ्नो ठाउँमा छ । पासै भएकाले पनि रोजगारी नपाउने अवस्था छ यसलाई कसरी लिनुहुन्छ ?
तपाईले उठाउनु भएको विषय सही हो हाम्रोमा शिक्षा नीति नै स्थीर र उचीत खालको छैन । कम्तीमा एक पटक नीति बनाएपछि त्यो दश प्रन्ध्र वर्षसम्म लागू हुनुपर्छ । यहाँ त छ, छ महिनामा सरकार र मन्त्री फेरिने नयाँ मन्त्री आउना साथ आफूले जहाँ पढेको हो त्यही देशको जस्तो शिक्षा नीति बनाउने , देशको हावा पानी माटो सुहाउँदो शिक्षा नीति नबनाउने समस्या छ । शिक्षा नीति बनाउदा जो विज्ञसँग सल्ला लिन्छन् ती पनि नयाँहरु सँग भन्दा पुरानो सँग सल्लाह लिने गर्दछन् जसले पुरानै खालका सल्लाह दिन्छन् । जस्तो कि बिचमा एक दशमलब छ जिपिए आएपछि विद्यार्थी पास हुने नीति बनाए यसले गर्दा विद्यार्थीको पढ्ने बानी हट्यो विश्वमा यो ठिकै भएपनि हाम्रोमा यो उचित देखिएन । त्यसैगरी विगतमा नेपालमा नीजि विधालय नहुँदा पढ्नको निम्ति विद्यार्थीहरु भारतको दार्जिलिङ, कालिङपोङ जाने गर्दर्थे । अहिले यतै बोर्डिङग स्कुल खुलेपछि पढ्नकोलागि विद्यार्थी भारत जाने क्रम रोकियो । ठूलो रकम देशमै रहयो तर सरकारी नीति नीजि विद्यालयलाई निरुसाहित गर्ने गरि बनाउँछन कहिल्यै नेपाली नामाकरण गर भन्छन् कहिल्यै छात्रवृद्धि दिऊ भन्छन् जसले गर्दा नीजि विद्यालय सञ्चालक हतोसाहित बनेका छन् । यसै गरी विगतमा दुई वटा विषय पास नभएकालाई एसइईमा स्तर वृद्धिको मौका परिक्षा दिने नीति बनाए । अहिलेका शिक्षा मन्त्रीले धेरै फेल भएका एक पटकलाई सबैलाई स्तर वृद्धि परिक्षामा सामेल हुन दिने भने भोलि अर्को आएर एक पटकलाई सबै पास गरि दियौं भन्न के बेर । त्यसैगरी रोजगारीको लागि व्यवसायीक शिक्षा दिनुपर्ने हुन्छ । त्यसकालागि कृषि, पर्यटन, हाईड्रो जस्ता विषयमा शिक्षा दिनु पर्ने हुन्छ । यसका निम्ति प्राविधिक शिक्षा दिने भनेर सिटिभिटी त खुलेको छ । तर त्यसमा १२ कक्षा भन्दा माथिको पढाई
हुँदैन । माथि पढ्न नपाउने भएपछि विद्यार्थी कसरी सिटिभिटी तर्फ आकर्षित होलान् । त्यसैले यी सबै समस्या समाधान गर्न उचित भिजन भएको नेताले सरकारको र शिक्षा मन्त्रालयको नेतृत्व गर्नु पर्दछ ।
तपाई आफैले लामो समयदेखि काठमाडौको कालिका स्थानमा एस्फोडेल पब्लीक स्कुल सञ्चालन गर्दै आउनु भएको छ । आफैले चलाई रहेको विद्यालय कसरी अगाडि बढी रहेको छ ?
हाम्रो स्कुल महँगो स्कुल होइन हामीले अत्यन्त थोरै पैसा लिएर विद्यार्थीलाई पढाई रहका छौं । हामीले दुई हजार पच्चिस सय मात्र फि लिएर बिद्यार्थीलाई पढाई रहेका छौं । गरिब बालबालिका जसले पैसा तिर्न सक्दैन उनीहरुलाई निशुल्क पनि पढाएका छौं । हाम्रोमा शतप्रतिशत फि तिरेर पढ्ने एक जना विद्यार्थी पनि छैनन । सबैलाई धेरथोर छुट दिएका छौं । तर हाम्रोमा पढाई अत्यन्त राम्रो छ । हाम्रो स्कुलबाट गएका विद्यार्थीले अमेरिकाका टप विश्वविधालयहरु टपेका छन् । मेरै आफ्नो छोरा यही स्कुलमा पढेका हुन् उनले अमेरिकाका नरदेन युनिर्भसिटी चारमा चार जी पी ए ल्याएर टप गरे । अमेरिकाको कर्यालिर्फोनिया विश्वविधालय टप्ने पनि हाम्रै विधालयको विद्यार्थी हुन् । सबै जसो विद्यार्थीले अमेरिकाका विश्वविद्यालयमा चारमा चार जिपिए ल्याएका छन् । हाम्रोमा करिब पाँच सय विद्यार्थी भर्ना भएकोमा ७७ जनालाई पूर्ण छात्रवृत्रिमा पढाएका छौ । मैले संञ्चालन गरेको स्कुलको कहिले पनि विज्ञापन गर्दिन । एकदमै उत्कृष्ट त म भन्दिन तर मेरो विद्यालय भएको क्षेत्रमा अभिभावक र विद्यार्थीले यो विधालयलाई राम्रो मानि दिनु भएको छ । जति पनि विद्यार्थी भर्ना हुन आउछन् उनीहरु अभिभावक र विद्यार्थीकै सिफारिसमै भर्ना हुन आएका छन् । हाम्रो बाट पढेर गएका विद्यार्थीले धेरै राम्रो गरेका छन् ।


















