बालयौन दुरुपयोगमा दोषी ठहर भएर कैद भुक्तान गर्दै आएका तपस्वी रामबहादुर बम्जनविरुद्धको अर्को मुद्दा पनि अदालत पुगेको छ । मकवानपुरकी किशोरी फूलमाया रुम्बालाई बेपत्ता बनाएको उजुरीका आधारमा अनुसन्धान गरी प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय सिन्धुपाल्चोकले मुद्दा जिल्ला अदालतमा दायर गरेको छ ।
ती किशोरीलाई बम्जनले सिन्धुपाल्चोकको आश्रमबाट बेपत्ता बनाएको आरोप छ । तर, बयानमा बम्जनले आरोप अस्वीकार गरेका छन् । किशोरीका बुबा वीरबहादुरले सिन्धुपाल्चोक आश्रमबाट आफ्नी छोरी हराएको भन्दै उजुरी दिएका थिए । आफूविरुद्धको मुद्दामा बम्जनको बयान छ, ‘मैले फूलकुमारीलाई बेपत्ता बनाएको छैन । उनी आश्रममा आए/नआएको पनि थाहा छैन ।’ सोमबार मात्रै अदालतले उनीसँग फूलमाया बेपत्ता बनाएको आरोपमा तीन लाख रूपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ । यसअघि नै बाल यौन दुरूपयोगको कसुरमा उनी दोषी ठहर भएका छन् । हाल उनी कैद भुक्तान गरिरहेका छन् । उनै बम्जनलाई व्यक्ति बेपत्ता पारेको मुद्दाका लागि सिन्धुपाल्चोक लगिएको थियो ।
यसअघि बम्जन लामो समय फरार थिए । फरार हुँदा उनीविरुद्धका कुनै पनि मुद्दा अगाडि बढ्न सकेका थिएनन् । तर, गएको पुसमा काठमाडौँमा उनी पक्राउ परे । यसपछि उनलाई सर्लाही लगियो । जहाँ उनीविरुद्ध बाल यौन दुरुपयोगको मुद्दामा प्रहरीले अनुसन्धान अघि बढायो । अन्तत: प्रहरीकै अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले दायर गरेको बम्जनविरुद्धको अभियोग पत्रको आधारमा जिल्ला अदालत सर्लाहीले बम्जनलाई दोषी ठहर गरेको हो ।
यसबीचमा प्रहरीले उनीविरुद्धको व्यक्ति बेपत्ता मुद्दालाई अघि बढाएको छ । सिन्धुपाल्चोकको बाँडेगाउँमा बम्जनले सञ्चालन गरेको आश्रमबाट २०७१ सालदेखि आफ्नी छोरी हराएको रुम्बाको जाहेरीमा उल्लेख छ । फूलमाया उनकै आश्रममा बसेर काम गर्थिन् । तर, बम्जनका कुनै पनि आश्रममा फेला परिनन् यसपछि रुम्बाले बम्जनविरुद्ध सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिएका थिए । यद्यपि, बम्जनले फूलमायालाई आफूले नचिनेको बयान दिएका छन् । उनी आफ्नो आश्रममा भए/नभएको थाहा पनि नभएको बयान दिए ।
‘मलाई यस मुद्दामा जाहेरी दरखास्त दिने जाहेरवाला वीरबहादुर रुम्बालाई मैले चिनेको छैन । निज जाहेरवालाको छोरी फूलमाया रुम्बा कहिले कुन मितिदेखि मेरो आश्रममा आई ज्ञान प्राप्तिको लागि बसेको हो मलाई जानकारी भए । जाहेरवालाको छोरीलाई म बस्दै आएको कुनै पनि आश्रममा आई कामकाज गरी ज्ञान प्राप्तिको लागि बसेको मलाई एकिन थाहा भएन’, बम्जनको बयान छ । बाराकै स्कुलमा कक्षा ५ सम्म लेखपढ गरेका बम्जनले १७ वर्षको हुँदा हलखोरिया जंगलमा ध्यान गर्न थालेका थिए । करिब ८ वर्ष सोही जंगलमा ध्यान गरेपछि सर्लाहीको पत्थरकोटमा अस्थायी आश्रममा गई आफ्ना भक्तजनलाई ज्ञान बाँड्न थालेका थिए ।
त्यसपछि सिन्धुलीको पहिरेमा स्थायी रूपमा बस्न थालेका थिए । बेला बखतमा सिन्धुपाल्चोकको टोड्के भिरमा रहेको आश्रममा समेत जान्थे । तर, यी कुनै पनि आश्रममा आउने भक्तजनहरूलाई आफूले नचिन्ने उनले बताएका छन् । उनका अनुसार फूलमायालाई आफू बस्दै आएको कुनै पनि आश्रमबाट बेपत्ता पार्ने कार्य भएकै छैन । बुबा वीरबहादुरका अनुसार फूलमाया बम्जनको आश्रममा जानुअघि तीन वर्ष तीन महिना मकवानपुरकै नेवारपानीमा रहेको डोदोन छोलिङ बौद्ध गुम्बामा बसेकी थिइन् । गुम्बामा बसेकै बेला बम्जनले तपस्या गरेर बुद्धत्व प्राप्त गरेको भन्ने सुनेपछि फूलमाया २०६८ सालमा उनको आश्रममा गएको वीरबहादुरको जाहेरीमा उल्ललेख छ ।
यसपछि २०७० सालको माघमा फूलमाया घर आएकी थिइन् । आउँदा उनलाई निक्कै चिन्तित अवस्थामा भेटेको फूलमायाकी फुपू सुन्तली गोलेले बताएकी छन् । ‘फूलमायालाई रोइरहेको देखेपछि के भयो भनि सोध्दा उनले जे भए पनि मेरो एउटा जीवन दान दिनलाई केही छैन, म खुसी नै छु भनी रुँदै गरेपछि मैले त्यसो भए अब त्यहाँ नजाऊ भन्दा उसले होइन म जानुपर्छ भनिन् । उनले गुरु (बम्जन)लाई खाना बनाई खुवाउने काम गर्छु, एकछिन पनि छोड्न मिल्दैन भनेकी थिइन्’, सुन्तलीको बयान छ ।
त्यसपछि फूलमायासँग आफ्नो भेट कहिल्यै नभएको बताएकी छिन् । तर, बम्जनको बोधी आश्रममा गुरु सरोज तितुङले भने २०७१ सालमा आफू पुग्दा फूलमायालाई उक्त आश्रममै देखेको बयान दिएका छन् । उनी आनीको रूपमा आश्रममा रहेको देखेको तर आश्रमको नियमअनुसार महिला र पुरुष बोल्न नमिल्ने उनले बताएका छन् । तर, २२ जेठ २०७३ मा बम्जन बाँडेगाउँ आश्रमबाट सर्लाहीको पत्थरकोट गएका थिए ।
‘सर्लाहीको आश्रममा जाँदा गुरुआमा भनिने एकजना महिलासहित अन्य तीनजना आनी र ५/६ जना पुरुष भिक्षुसँग जानु भएको थियो । फूलमाया रुम्बा गुरुमा त्यसभन्दा अगाडि नै बाँडेगाउँ आश्रमबाट निस्केर गइसक्नु भएको थियो’, सरोजको बयान छ । त्यसपछि फूलमाया उक्त आश्रममा फर्केर आएको नदेखेको पनि उनले बताएका छन् । २७ पुस २०७५ देखि मात्रै आश्रममा आउने जानेको नाम दर्ता गरी राख्ने गरेको उनले बताएका छन् । यद्यपि, सरकारी वकिल कार्यालयले बम्जनलाई व्यक्ति बेपत्ता पारेको कसुरमा १५ वर्षसम्म कैद र पाँच लाख रूपैयाँ जरिवानाको माग दाबी गरेको छ । बालबालिकासम्बन्धी कसुरमा थप दुई वर्ष कैदको माग पनि गरिएको छ । सिन्धुपाल्चोकपछि अब बम्जनलाई अन्य कसुर गरेको जिल्लामा उपस्थित गराइने प्रहरीले जनाएको छ ।


















