प्राज्ञिक विद्यार्थी परिषद्ले २५सय भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । काठमाडौमा शुक्रबार पत्रकार सम्मेलन गरेर उसले सो कुराको जानाकारी दिएको हो । प्राज्ञिक विद्यार्थी परिषद्ले देशका १६ वटा जिल्लाको विभिन्न सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने जानकारी गराएको हो ।१६ वटा जिल्लामा इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुर छन ।
कक्षा ११ र १२ मा अध्ययनरत २५ सय २५ जना विद्यार्थीहरूलाई झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने प्राज्ञिक विद्यार्थी परिषद्की राष्ट्रिय सचिव जानकी आचार्यले बताउनु भयो । कार्यक्रममा परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनील भारत सरकार र भारतीय जनताहरूको सहयोगमा विद्यार्थी परिषदले देशका १६ वटा जिल्लाका विद्यार्थीहरूलाई ५१ लाख बराबरको शैक्षिक सामग्री वितरण गर्न गइरहेको बताउनु भयो ।
विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानले पत्रकारहरूका प्रश्नहरूको जवाफ दिँदै विद्यार्थी परिषद्ले राष्ट्र प्रथमको विचारले नेपाली युवाहरूलाई सिञ्चीत गर्दै नेपाल आमाको जयका लागि आवश्यक सम्पूर्ण कार्य गर्नसक्ने व्यक्ति तयार गरिरहेको बताउँनु भयो । उहाँले विद्यार्थीलाई प्रदान गरिने शैक्षिक सामग्री अन्तर्गत कपीमा व्यक्तिको राष्ट्रिय चरित्र निर्माणका लागि आवश्यक एक संकल्प राष्ट्रका लागि राखिएको जानकारी दिनु भयो ।
नेपालको शैक्षिक विकासमा विभिन्न प्रकारका छात्रवृत्ति प्रदान, क्याम्पस, विद्यालय तथा पुस्तकालयका शैक्षिक तथा प्रशासनिक भवन निर्माण, विद्यालय तथा क्याम्पसका लागि वस प्रदान जस्ता महत्वपूर्ण सहयोग गर्दै आएको मित्रराष्ट्र भारतले प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आग्रहलाई स्वीकार गरी भारतीय जनता र भारत सरकारको सहगोगबाट प्राप्त भएको केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख न्यौपानेले जानकारी दिए ।
विद्यार्थीहरूको वैचारिक एवम् सामाजिक विकास गर्ने क्रममा देशभरका क्याम्पसहरूमा जीवननोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम, छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्युटर तालिम, कोचिङ् कक्षा, बालसंस्कार कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, प्रतिभा सम्मान, रक्तदान शिविर जस्ता रचनात्मक एवम् सिर्जनात्मक क्रियाकलाप प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु पंगेनी, केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख तथा कोशी र मधेश प्रदेश संगठन सचिव छितराज न्यौपने, राष्ट्रिय सचिव जानकी आचार्य, सृष्टि जोशी, राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण प्रसाद हुमागाई, सेवा र विकासका लागि युवाका कार्यकारी निर्देशक अर्जुन बगाले, बाग्मती प्रदेश सचवि मनिता देवकोटा लागाएतको सहभागिता रहेको थियो