तपाई मुद्रण उद्योग महासंघको पूर्व अध्यक्ष हुनु हुन्छ पूर्व अध्यक्षको हैसियतले भन्दा अहिले नेपालमा मुद्रण उद्योगको अवस्था कस्तो छ ?
अहिले नेपालमा कुनै पनि उद्योग व्यवसाय राम्ररी चलेको अवस्था छैन । उद्योग व्यवसाय राम्ररी चल्न नसक्नुका पछाडि धेरै वटा कारण छन् । अहिले म ती कारणको बारे धेरै चर्चा गर्न तर्फ लागीन । यसरी समय उद्योग व्यवसायको अवस्था राम्रो हुन नसकेको अवस्थामा मुद्रण व्यवसाय वा उद्योग जे भन्नुस त्यो पनि राम्ररी चल्ने भन्ने हुँदैन । यद्यपी विगतसँग तुलना गर्दा राम्रै रुपमा अगाडि बढ्दै छ । भन्नुको मतलब यो उद्योगमा ठूलो पूँजि लगानी भएको छ । नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । छपाइको गुणस्त्र राम्रो भएको छ । कयौं व्यक्तिहरुलाई रोजगारी दिई रहेको छ । यो अर्थमा राम्रै छ । पाठयपुस्तकहरु छापेर सरकारको कामलाई पनि सहयोगनै गरेको अवस्था हो । आजभन्दा १७३ वर्ष अघि १९०८ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत जाँदा गरुणको लोगो लागेको एउटा छपाइ मेसिन ल्याउनु भएको थियो । जसलाई हामी गिद्धे प्रेस पनि भन्छौं । त्यहाँबाट सुरु भएको नेपाली प्रेसको इतिहास आजसम्म आउँदा पूँजि लगानी, नयाँ प्रविधिको प्रयोग छपाईएका गुणस्तर आदिमा राम्रो प्रगति छ ।
मुद्रण उद्योगको क्षेत्रमा धेरै नयाँ नयाँ प्रविधि विकास भएको छ नेपालमा त्यो प्रविधि र त्यसलाई चलाउने दक्ष जनशक्ति उपलब्ध छ कि छैन ?
तपाईले भने जस्तै विश्वमा अहिले मुद्रण क्षेत्रमा अत्यन्त नयाँ नयाँ प्रविधि विकास भएका छन् । पहिला पहिला मान्छेले गर्ने काम अब कम्प्युटर र आर्टिफियल इन्टिलिजिन्यस (एआई) ले गर्न थालेको छ । विश्व अब डिजिटल युगमा प्रवेश गरी सक्यो एउटै मेशिनको एक करोड देखि १० करोडसम्म पर्दछ । नेपालमा हेर्ने हो भने एक करोड जाने मेशिन लगभग चार हजारजति छन् । एक हजार जति उद्योगीसँग त पाँच देखि दश करोडसम्म जाने मेशिन छन् । विभिन्न दैनिक पत्रिकाले पनि फोर कलर मेशिन ल्याएका छन् । यो कोणबाट हेर्दा मुद्रणको अवस्था राम्रो छ । तर लगानी अनुरुपको प्रतिफल नआउने , दक्ष जनशक्ति यहाँ बिदेशीएर यहाँ दक्ष जनशक्तिको अभाव हुने , सरकारका अव्यवहारीक नीति नियमका कारण राम्रो छ भनेर सन्तुष्टी मान्ने अवस्था पनि छैन । निराशनै हुने अवस्था त होइन तर अझ राम्रो बनाउन लाग्नु पर्ने छ । यो क्षेत्रलाई सरकार सहयोगको कमि छ । सरकार सहयोग हुने हो भने राम्रै हुनेछ ।
दुनियाँ डिजिटल युगमा प्रवेश गरि सक्यो जसले गर्दा कागजी छपाईको काम त कम भएको छ होला नी होइन र ?
अवश्य पनि कागजी छपाईको काम कमी भएको छ, कयौं काम त अनलाइन मार्फत हुने गरेका छन् । संसारकै चलन भनेको नयाँ प्रविधि आएपछि पुरानो प्रविधि लोप हुँदै जान्छ । छिमेकी देश भारतमा नयाँ नयाँ प्रविधि आएका छन् । चीनले आफै नयाँ प्रविधिको विकास गरेको छ । हामीले पनि नयाँ नयाँ प्रविधिलाई आत्मा साथ गर्दै त्यसमा अभ्यस्त बन्ने र सोही अनुरुपको लगानी गर्नु पर्ने हुन्छ । समय अनुरुप आफूलाई अपग्रेड गर्नुको विकल्प छैन त्यो काम हामीले गछौं । हामीले यसो गरि रहदा सरकारले पनि मुद्रण उद्योग मैत्री नीति नियम बनाई दिनु पर्दछ ।
नेपालका मुद्रण उद्योगीहरुले हामी सँग पछिल्लो समय विकास भएको प्रविधि र सो प्रविधि चलाउने दक्ष जनशक्ति छ हामीले जस्तो पनि काम गर्न सक्छौं भन्दा भन्दै सरकारले सुरक्षण मुद्रणको काम विदेश पठाई रहेको छ उद्यमीहरुलाई किन विश्वास नगरेको होला ?
नेपालका नीजि क्षेत्रका मुद्रण उद्योगीहरुले पछिल्लो समय विश्वमा विकसित भएका नयाँ प्रविधि भित्राएका छन् । सुरक्षण मुद्रणको कुरा गर्दा यो काम हाम्रो देशमा बाहेक हाम्रा छिमेकी राष्ट्र भारत चीनमा पनि हुन्छ । हामी नीजि क्षेत्रको भनाई सुरक्षण मुद्रणको काम हामीले गछौं भनेका होइनौं हाम्रो भनाई सुरक्षण मुद्रणका काम जनकशिक्षा र मुद्रण विभागले गरोस् जहाँ सरकारको लगानी छ । राष्ट्रिय परिचय पत्र, नागरिकता, पासर्पोट, हुलाक टिकट, चेकबुक, लाइसेन्स, राजस्वका स्टिकरहरु, प्रश्नपत्रहरु सरकार बाट सञ्चालित जनक शिक्षाले छापोस् जनक शिक्षाले अहिले किताबहरु छापिरहेको छ । किताब छाप्न नीजि क्षेत्रलाई देओस भन्ने हो । यसो गर्दा सरकारलाई पनि भार कम हुन्छ । संवेदनशील काम सरकार आफैले गरोस् किताब छपाई सुरक्षण मुद्रणमा गर्नै पर्दैन ।
यो त छापेर पसल पसलमा पठाउने चिज हो । यो काम गर्न नीजि क्षेत्र सक्षम छ भनेर भन्दै आएका छौं । यसो भन्न थालेको पनि २० वर्ष भयो । म आफै मुद्रण उद्योग महासंघको अध्यक्ष हुँदा पनि सरकारका मन्त्री, सांसद र संसदीय समिति जो जो नीति बनाउने ठाउँमा छन् तिनलाई भटेर ज्ञापन पत्र बुझाए । सबैले राम्रो कुरा उठाउनु भयो यही अनुरुप हुनुपर्छ भन्नु भयो तर व्यवहारमा लागु हुने गरी नीति बनाउनु भएन । उहाँहरुले भन्न त कापी किताब छाप्ने जिम्मा नीति क्षेत्रलाई दिन्छौं यसमा ढुक्क भएर लगानी गर्नुस् भन्नु भयो लगानी पनि ग्यौ तर नीति बनाउनु भएन । अर्थात मुद्रण विभाग सिंहदरवारमा छ त्यहाँ प्रयाप्त पूर्वाधार बनाउन ठाउँको कमि हुन सक्छ । जनक शिक्षामा पूवार्धार बनाउने ठाउँ पूँजि सबै छ यसमै थप लगानी गरेर व्यवस्थीत ग¥यो भने जनकशिक्षाबाट नै सुरक्षण मुद्रणको काम गर्न सकिन्छ । जसबाट सुरक्षण मुद्रणको लागि हामीले विदेशीलाई तिर्ने रकम घट्दछ । विदेशमा तिर्दा डलरमा तिर्नुपर्दछ । त्यो रकम स्वदेशमै रोकिन्छ । नीजि क्षेत्रले काम पाउँछन् । रोजगारीको अवसर सिर्जना हुन्छ । विद्यार्थीहरुले पनि समयमै पाठ्यपुस्तक पाउन सक्ने अवस्था सिर्जना हुन्छ । भनेर भन्दा मुखले ठिक भन्नु भयो भन्ने तर ब्यबहारा सहयोग हुने गरि नीति नबनाउने अवस्था रह्यो ।
सुरक्षण मुद्रणमा त सेक्युरेटी प्रेस खरिदमा धेरै घोटला भएका समाचार पनि आए नी ?
हो । सुरक्षण मुद्रणमा पनि घोटला भएको चर्चा चले ७० करोडको कुरा पनि आयो सरकारले जनकशिक्षालाई र मुद्रण विभागलाई यथावत राखेर काभ्रेमा सुरक्षण मुद्रण राख्ने भन्यो तर त्यो चल्न सकेको छैन । बेकारमा हल्ला मात्र भएको छ । हामीले भने जस्तै जनक शिक्षालाई सुरक्षणको काम दिएको भए अहिलेसम्म त्यो लागु हुने थियो नीजि क्षेत्रका प्रेसले अहिले दैनिक आठ घण्टा पनि काम पाएका छैनन् यदि पाठ्यपुस्तक छाप्न पाएको भए प्रेसहरु २४ सैं घण्टा चल्न सक्थे । त्यो वातावरण बनाई दिनुस् भन्ने सरकारलाई हाम्रो आग्रह हो ।
अहिले मुद्रण उद्योगलाई चाहिने कच्चा पदार्थ विदेशबाट ल्याउदा भन्सार लाग्छ तर तयारी पुस्तक ल्याउदा भन्सार लाग्दैन यसले गर्दा त नेपाली मुद्रण उद्योगलाई प्रतिश्प्रर्धा गर्न गाह्रो पर्ला नि ?
हो तपाईले प्रश्न गर्नु भए जस्तै मुद्रण उद्योगलाई चाहिने कच्चा पदार्थ कागज मशि, प्लेट,केमिकल विदेशबाट विशेष गरी भारत र चीन बाट ल्याउनुपर्दछ । यसरी ल्याउदा हामीले भन्सार तिर्दै आएका छौं । हाम्रो सरकारसँग आग्रह भन्सार कम गरी दिनुस् वा निःशुल्क गरिदिनुस् यसो हुँदा हामीले तेस्रो मुलुकसँग प्रतिश्पर्धा गर्न सक्छौं । हामीले छाप्ने पाठ्यपुस्तक सस्तोमा विधार्थीलाई दिन सक्छौं । अहिले कर जोड्दा एउटा कापीको २० रुपियाँ पर्छ भने कर नलिदा त्यो हामीले १५ रुपियाँमै दिन सक्छौं । सरकारले शिक्षा क्षेत्रमा अनुदान दिर्दै आएको छ । भन्न त सरकारले करबाट राजश्वमा योगदान मिलेको छ भन्छ यताबाट जति कर उठ्छ त्यो भन्दा बढी अनुदान दिनु परिरहेको छ । यदि कर छुट भयो भने सस्तो पाठ्यसामाग्री सस्तो पर्छ जसले गर्दा अनुदान रकम नदिएपनि हुने वा कम दिए पनि हुने अवस्था आउँछ ।
एउटा पक्ष यो भयो भने अर्को पक्ष सरकारी प्रयोगमा आउने कागजहरु कम्तीमा नेपाली उद्योगकै प्रयोग गर्नुपर्दछ भन्यौ । यसो भयो भने नेपाली कागज उद्योगलाई पनि सहयोग हुन्छ । अहिले पाठ्यपुस्तक छाप्दा सुपरहवाइट म्याप्लीथो भनेको छ । यसको सट्टा नेपालमै उत्पादित हुने सेतो कागज भने त नेपाली कागज बिक्री हुने थियो । म्याप्लिथो भन्दा साथ विदेशबाट किन्नु पर्दछ । नेपालमै उत्पादित कागजमा छापे पनि एक वर्ष त पुस्तक चलि हाल्छ । अर्को वर्ष त पुरानो किताब खासै कसले प्रयोग गर्दछ र ? कागजको विक्री भयो भने नेपालमै थप कागज उद्योग खोल्न सक्छन् जसले थप रोजगारी पैदा गर्छ । कागज किन्न वदेशीने पैसा पनि नेपालमै रोकिन्थ्यो । अहिले कयौं किताबहरु भारतमा छापिएर आउँछन् । ज्ञानमा कर लगाउन हुन्न भनेर विदेशमा छापिएर आउने किताबमा कर लाग्दैन । हामीले कच्चा पदार्थ ल्याएर यहाँ छाप्दा कच्चा पदार्थको कर समेत जोडनु पर्ने हुन्छ । जसले गर्दा बाहिर छापेर ल्याउने भन्दा यहाँ छापेको किताब महङगो हुन्छ । यसले गर्दा प्रतिस्प्रर्धा गर्न गाह्रो पर्दछ । विगतमा एक पटक बाहिर बाट छापिएर आएको पाठ्यपुस्तकमा १५ प्रतिशत कर लगाउने भन्ने निर्णय पनि भएको थियो । तर के के चलखेल भयो ज्ञानमा कर नलगाउने भने त्यो व्यवस्था हटाए । सुरक्षण मुद्रणको काम सरकारी छापा खाना बाट गर्न गराउन भनेर चित्रलेखा यादव शिक्षा मन्त्री भएको बेला संसदको शिक्षा तथा खेलकुद उपसमितिले निर्देशन पनि दियो तर त्यो पनि लागु भएन । त्यस पछि हामी अदालत गयौं । अदालतले पनि निर्देशन कार्यान्वयन गर्नु भयो ।
तर अदालतको आदेश पनि कार्यान्वयन भएन । मुद्रण उद्योग मैत्री नीति पनि नबन्ने बनि हाल्यो भने पनि लागू नगर्ने यस्तो भएपछि यहाँ कसरी उद्योग फस्टाउँछन् ? कसरी रोजगारी सिर्जना हुन्छन् ? उद्योग नहुने, रोजगारी नहुने भएपछि युवा खाडी राष्ट्र जानुको विकल्प के रहयो र ? युवा विदेश पलायन भए भनेर हल्ला गरेर मात्र त हुँदैन नी । रोक्नलाई त उद्योग धन्दा खोल्ने, रोजगारी दिने बातावरण देशमा बन्नु परयो नि ।
सरकारले आवाज सुनेन भन्नु भयो ? तपाईहरुको आवाज बोलियो नभएर हो कि तपाईहरुको संघ महासंघ नै खासै सक्रिय छैनन् ?
हामी चुप लागेर बसेका त छैनौं , आवाज नसुनेपछि अदालत गयौं । अदालतले पनि हाम्रो पक्षमा फैसला गर्यो । तर अदालतको आदेश पनि पालना भएन मुद्रण व्यवसायी अदालतको आदेश पालना गर भनेर अर्को मुद्धा लिएर पुनः अदालत जानु पर्ने अवस्था छ । त्यस्तै महासंघ निस्कृय पनि होइन म आफैले मुद्रण महासंघको अवधारणा ल्याएको हुँ । मुद्रण महासंघमा रहुन्जेल सम्बन्धीत निकायहरुमा व्यापक कुराहरु पुराएका थियौ । जसका कारण केही नीतिगत निर्णय गराउन पनि सफल भएका थियौं । तर ति निर्णयहरु लागु नहुँदा समस्या आएको हो ।
सरकारलाई गाली गर्नु हुन्छ तर आफै पनि संघ र महासंघ भनेर विभाजीत हुनुहुन्छ नी ?
त्यस्तो छैन हामी बिचमा कुनै विवाद छैन । हामी व्यवसायी हुँ काम गर्दा आफसमा व्यवसायी प्रतिश्प्रर्धा हुन सक्छ । तर नीतिगत सवालमा संघ महासंघ सबै एकै ठाउँमा छौं । संघहरु मिलेर महासंघ बनेको हो , हामीहरु भन्दा माथि उद्योग वाणिज्य महासंघ छ । हामी सबै मिलेरै काम गछौं ।


















