बङ्गलादेशमा विरोध प्रदर्शनमा हिजो १३५ जनाको मृत्यु

बङ्गलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको दिन सोमबार १३५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले अस्पताल, होटेल र सडकमा आगजनी गरेका थिए । यसबाहेक हसिनाको पार्टी आवामी लिगका सांसद र नेताका घरमा तोडफोड भयो । कयौँ जिल्लामा आवामी लिगका नेताको हत्या गरिएको छ । हिंसापछि पूरै देशमा अराजकता र अशान्तिको स्थिति छ । ढाकाबाहिर सावर र धमराई क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबिच भएको गोलीबारीमा १८ जनाको मृत्यु भएको थियो । उत्तरा क्षेत्रमा प्रहरी चौकीले प्रदर्शनकारीमाथि गोली चलाउँदा अरु १० जनाको मृत्यु भएको थियो ।

गोली चलेपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले प्रहरी चौकी घेरा हालेर आगजनी गरेका थिए । हबिगञ्जमा प्रदर्शनकारी र प्रहरीबिच भएको हिंसात्मक झडपमा ६ जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर तंगेलमा दुई र धनबारीमा एक जनाको मृत्यु भएको थियो ।लक्ष्मीपुर क्षेत्रमा भएको हिंसामा ११ जनाको मृत्यु भयो ।

पूर्व युवा नेताको घर अगाडि सात जनाको शव भेटिएको थियो । कुश्तियामा एक किशोर सहित ६ जनाको मृत्यु भएको छ । सतखीरामा पनि तीन जनाको मृत्यु भएको छ ।जेस्सोरमा अवामी लिगका महासचिव शाहीन चक्लादारको होटेलमा आगजनी हुँदा आठ जनाको जलेर मृत्यु छ । यसबाहेक चित्तमोरमा एउटा होटेलमा आगजनी भएको छ । खुल्नामा अवामी लिगका अध्यक्ष जीएम मोहसिन रजा, उनका ड्राइभर आलमगीर र निजी सहायक मोफिजुल इस्लामलाई भीडले कुटपिट गरी मारेका छन् ।