सान न्युजमा हामीले २०८१ बैशाख २१ गते काठमाडौं–२ लाजिम्पाटमा ठेगाना राखी दर्ता गरेर सोह्रखुट्टेमा भूमिगत तवरले सञ्चालित रुरल डेभलपमेन्ट सेभिङ्ग बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सोझा संचालक र सदस्यहरुलाई ठगी गरेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका थियौ । समाचारमा सहकारी संस्थाका अध्यक्ष आङ्गबाबू राई, सचिव बिनोद मणि राई, कोषाध्यक्ष अप्सरा श्रेष्ठले सहकारीको रकम हिनामिना गरेको प्रष्ट पारेका थियौं ।
हाम्रो समाचार प्रकाशित भएपछि समाचारमा नाम उल्लेख भएका व्यक्तिले आफूहरुले ठगी नगरेको बरु सान न्युजले गलत समाचार दिएको भनेर सान न्युज बिरुद्ध उजुरी समेत गरेका थिए । तर ‘झुट टिक्दैन सत्य छिप्दैन’ भने जस्तै अहिले सरोकारवाला निकायले छानबिन गर्दा उनीहरु दोषी देखिएपछि भाग्ने आशंकामा प्रकाउ गरि प्रहरी कार्यालयमा थुनामा राखिएको छ।
काठमाडौं महानगरपालिकाले गरेको छानबिनमा ३ करोड ८५ लाख भन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाले २०८० फागुन २४ गतेको निर्णय अनुसार छानबिन टोली गठन गरेको र २०८० चैत्र १५ गते चार्टर एकाउन्टेन नियुक्ति गरेको थियो । सो टोलीले २०८१ बैशाख १८ गते आफ्नो रिर्पोट दिदा सहकारीमा १८ लाख ६८ हजार शेयर रहेको, त्यस्तै बचत ५ करोड ६ लाख ८३ हजार गरेको, सहकारीले कर्जाप्रवाह १ करोड ४५ लाख गरेको र ३ करोड ८५ लाख ८२ हजारको हिसाब नदेखिएकाले सो रकम हिनामिना भएको उल्लेख छ । सोही रिर्पोटका आधारमा महानगर पालिकाले कारवाही गर्न प्रकृया अगाडि बढाएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसान्धान ब्यूरोले पनि २०८१ असार २५ गते जिल्ला प्रहरी कार्यालय काठमाडांैलाई पत्र लेख्दै बचत कर्ताको रकम अवघि पुग्दा पनि भुक्तानी नगरेकोले कारवाही गर्न पत्राचार गरेको थियो । सोही पत्रका आधारमा सहकारी संस्थाका अध्यक्ष आङ्गबाबू राई पक्राउ परे पनि सचिव बिनोद मणि राई र कोषाध्यक्ष अप्सरा श्रेष्ठ भने फरार भएका छन् ।
यसअधि जेठ १४ मा बिब बहादुर राईले एक निबेदन दिदै सहकारी बि.स.२०७३/०७४ सम्म रु. २२ लाख ४६ हजार १० रुपैंया नाफा रहेको तर त्यसपछि अध्यक्ष आङबाबू राई, सचिव बिनोद मणि राई र कोषाध्यक्ष अप्सरा श्रेष्ठ मिलि सबै रकम लिई खाई ठगी गरेको सहकारीको लामो समयसम्म बैठक, साधारणसभा पनि आयोजना नगरेको भन्दै कारवाहीको माग गरेर निबेदन दिएका थिए । उनका निबेदनमा कार्य समितिको निर्णय बिना सहकारीको नाममा रकम संकलन गरि अध्यक्ष र सचिवले आफ्नो ब्यक्तिगत खातामा रकम जम्मा गर्ने गरेको, सहकारीको नाममा अनाधिकृत रकम उठाई आफ्नो निजि नाममा सम्पत्ति खरिद गरेको, सहकारीको कर्जा रकम असुल उपर गरि लिलामबाट आएको जग्गा सहकारीको नाममा नराखी भिमढुंगा–३ स्थित कित्ता नम्बर ६१ को क्षेत्रफल एक रोपनी ११ आना २ पैसा जग्गा अध्यक्ष र सचिवको योजनामा कोषाध्यक्ष अप्सरा श्रेष्ठको नाममा पास गरि लिएर ठगी गरेको उल्लेख छ ।
त्यसैगरी सञ्चालक समितिको निर्णय र साधारण सभाको निर्णय बिना अध्यक्ष, सचिव र कोषाध्यक्षले कर्जा प्रवाहमा १ देखि २ प्रतिशत सेवा शुल्क लिई ब्यक्तिगत तवरले ठगी गरेको साथै तीन जनाले गैरकानुनी रुपमा २३ प्रतिशत ब्याज लिएर ब्यक्तिगत खातामा जम्मा गरेर ठगी गरेको उल्लेख छ सो विषय महानगरको प्रतिबेदनमा पनि उल्लेख छ । मुद्दती खातामा राखेको निक्षेप रकम परिपक्क भएपछि सम्बन्धित ग्राहकलाई भुक्तानी नदिएर अध्यक्ष आङ बाबू राईको नामको खाता ००१–CA–००३८१ (एबि राई) को ब्यक्तिगत खातामा जम्मा गरि करोडौं रकम तीन जनाले ठगी गरेको अनुसन्धानबाट समेत खुलेको छ ।
बिबबहादुरको निबेदनमा भने जस्तै महानगरको प्रतिबेदनमा पनि पदाधिकारी लगायत साधारण बचत कर्ताको करोडौं रकम ठगी गर्ने तीन जनाले कुनै पनि सूचना र जानकारी नदिएर ३ सय ७० जना शेयर सदस्य मध्ये ४० जना मात्रैको उपस्थिति देखाएर ६ बर्षको काल्पनिक बनावट साधारणसभा गरि नक्कली लेखापरीक्षण बनाएर महानगरपालिकामा पेश गरेको भन्दै त्यसलाई अबैधानिक ठहर गरेको छ ।
गैरसरकारी संस्थाको रुपमा संस्था दर्ता ऐन २०३४ बमोजिम काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको नेपाल रुरल डेभलपमेन्ट फाउन्डेशनमा आबद्ध भएका सदस्यहरुमा सिमित रहने भनि विधानमा उल्लेख भएतापनि बाहिर गएर रकम असुली ठगी गरेको लगायतका आरोप सहित काठमाडौं महानगर पालिका सहकारी बिभाग प्रहरी अख्तियार लगायतमा निबेदन दिएका थिए । हामीले पनि यस्तै आधारमा समाचार बनाएका थियौं। अहिले संस्थाका अध्यक्ष आङ्गबाबू राई पक्राउ परेपनि सचिव बिनोद मणि राई र कोषाध्यक्ष अप्सरा श्रेष्ठ भने फरार छन् । उनीहरु बिदेश भाग्न सक्ने भएकोले प्रहरी चनाखो भएर खोज्नु पर्दछ । साथै ठगि गर्नेमा अध्यक्ष आङ्गबाबू राईले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीसँग राम्रो सम्बन्ध भएको दाबी गर्दै अनुसन्धान गर्ने निकायमा दवाब दिएकोले अनुसन्धान कमजोर हुन सक्ने सहकारी पिडितको आशंका छ । ठग बचाउनमा कोही नलागुन हाम्रो खवरदारी सदा हुनेछ ।




















