अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

१६ भदौ, चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ । सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनकाले जनाएको छ ।

यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।

मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो । ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको अवस्था मध्यम छ । उहाँका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ ।