पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारीको बचत अपचलन प्रकरणमा प्रहरीले अनुसन्धानको ‘मुख्य केन्द्रविन्दु’मा राखेको छ । सूर्यबहादुर थापा संयोजक रहेको सहकारी प्रकरणको छानबिन गर्न गठित संसदीय समितिले नौ घण्टासम्म बयान लिएलगत्तै लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान तीव्र बनाएको हो । उनीविरुद्ध प्रहरीमा पोखराको सूर्यदर्शन सहकारी, रुपन्देहीको सुप्रिमलगायत सहकारीको बचत तत्कालीन गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको उजुरी छ ।
अहिले भने प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा लामिछानेविरुद्ध दोस्रो चरणको अनुसन्धान अघि बढाएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार लामिछानेसँगै अन्य आरोपीविरुद्ध पनि अनुसन्धान भइरहेको छ । छिट्टै अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिइसकेको बताए ।
लामिछाने तत्कालीन गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए । जबकि, उनको सहकारीमा खाता नै थिएन । सहकारीको सदस्यको हैसियतमा पनि थिएनन् । यसरी अवैधानिक रूपमा मिडिया हाउसमा पैसा लगेको पीडितहरूको उजुरीमा उल्लेख छ । उसो त पहिलो चरणको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । तर, गत १६ माघमा केही पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा पुरक प्रतिवेदन दिए । त्यस आधारमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको हो । पुरक जाहेरीमा लामिछाने प्रतिवादी छन् । लामिछानेले भने आफूलाई प्रतिवादी बनाएर कुनै पनि प्रहरी कार्यालयमा उजुरी नपरेको दाबी गर्दै आएका थिए ।
यतिसम्मकी उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला महान्यायाधिवक्ता रहेका दिनमणि पोखरेलमार्फत् कुनै पनि प्रहरीका निकायमा उजुरी नहरेको भन्दै ‘क्लिन चिट’ आफूलाई दिलाएका थिए । यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो । मुद्दा हाल विचाराधीन छ । यता कांग्रेस–एमालेको सरकारमा गृहमन्त्री कांग्रेसबाटै रमेश लेखक भएपछि उनको निर्देशनमा प्रहरीले सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेकेन्द्रित अनुसन्धानलाई प्राथमिकता दिएको हो ।
उनीबाहेक उनकै दल रास्वपाका सहमहामन्त्री विपिन आचार्य, नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी र माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी)का महासचिव दीपेश पुनसँग प्रहरीले बयान लिइसकेको छ । उनीहरूसँग प्रहरीले गत ८ भदौमा बयान लिएको हो । लामिछानेसँग १० भदौमा बयान लिएको थियो । त्यसअघि थापा नेतृत्वको संसदीय छानबिन समितिले ७ भदौमा लामिछानेसँग बयान लिएको थियो ।
बयानमा उनले सहकारीको बचन अपचलनबारे आफूलाई केही थाहा नभएको जिकिर गरेका थिए । ‘जुन जुन सहकारीको बचत अपचलन भएको छ भन्नुभयो । मलाई सहकारीको रकम अपचलनबारे केही थाहा छैन । मलाई थाहै नदिइ कसले मेरो नाममा के गर्यो त्यो थाहा हुने विषय पनि भएन । कम्पनीबाट अलग भइसकेकाले त्यहाँको आर्थिक कारोबारको पाटोमा म जानकार छैन’, लामिछानेको बयान थियो ।
१० भदौमा बयान लिन भनेर जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्मा नतेृत्वको तीन सदस्यीय छानबिन टोली काठमाडौं आएको थियो । टोलीले लामिछाने यसअघि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कको कार्यालय, नेचर हब्र्स र नेचर नेस्ट इन्टरनेशनलको कार्यालयमा समेत छापा मारेको थियो । टोलीले त्यसक्रममा कार्यालयमा खानतलासी गरेको थियो । तर, सहकारीको बचत अपचलनसँग जोडिएको कुनै पनि महत्वपूर्ण कागजात भने फेला परेको टोलीमा संलग्न एक जना प्रहरी अधिकारीले जानकारी दिए । उनले सान न्यूजसँग भने, ‘जुन जुन कार्यालयहरूमा हामीले खानतलासी गर्यौँ, सहकारी अपचलनसँग जोडिएका महत्वपूर्ण कागजात फेला पार्न सकेनौँ ।’
यसअघि लामिछाने दुईपटक उपप्रधान तथा गृहमन्त्री भए । दुवै कार्यकालमा उनले आफू मुछिएको सहकारी प्रकरणबारे छानबिनलाई अघि बढाउन दिएनन् । बरु, छानबिनमा संलग्न केही प्रहरी अधिकारीलाई प्रतिरोधपूर्ण ढंगले सरुवा गरेको आरोपको सामना गर्नुपर्यो । उनले पटकपटक पत्रकार सम्मेलन गरेर सञ्चार माध्यममा आएका उनी सहकारी प्रकरणमा जोडिएको सम्बन्धी समाचारहरूको खण्डन गरिरहे ।
तत्कालीन प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लामिछाने गृहमन्त्री भएपछि छानबिन प्रभावित भएको र संसदीय छानबिन समिति गठनको माग गर्दै बारम्बार संसद बैठक अबरुद्ध गर्यो । अन्तत: कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरू सम्मिलित संसदीय छानबिन समिति गठन भयो । उक्त समितिले लामिछानेसँगै अन्य विभिन्न सहकारीको बचत अपचलनको आरोपीहरूसँग बयान लिइसकेको छ ।
३१ असार २०७८ मा पुलेसो कर्जामार्फत् लामिछानेको नाममा सहकारीको १ करोड रकम निकासा गरिएको भेटिएको थियो । पछि उक्त ऋण फस्र्यौट भएको पनि भेटिएको थियो । तर, लामिछानेले भने आफ्नो नाममा भएको कारोबारबारे अनभिज्ञता प्रकट गरेका थिए । यससँगै सूर्यदर्शन सहकारीको ५ करोड ५८ लाख ९ हजार रुपैयाँभन्दा बढी रकम गोर्खा मिडियामा गएको अनुसन्धानबाट भेटिएको थियो ।



















