अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडक खण्डमा आज र भोलि टिपरलगायत मालवाहक गाडी सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो । निर्माण व्यवसायीको लापर्बाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाण्डौबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रहेका लगाएको कार्यालयले जनाएको छ ।
निर्माणाधीन धुलिखेल–खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकाले सडक निर्माणमा सहयोग गर्न सबैसँग कार्यालयले अनुरोध गरेको हो । निर्माण सामग्रीको ढुवानी गर्ने टिपरका साथै चीनको खासा हुँदै नेपाल भित्रिने वस्तुको ढुवानी गर्ने कन्टेनर यो सडकमा सञ्चालन हुँदै आएका छन् ।
















