अमेरिकामा भावी राष्ट्रपति पदका दुई उम्मेदवारबीच टेलिभिजन बहस सकिएको भएपनि बहसबारे बहस अझै टुङ्गिएको छैन । सामाजिक सञ्जालहरूमा कयौँ प्रयोगकर्ताहरूले बहसको बेलामा कमला ह्यारिसले अडियो झुम्का लगाएको दाबी गरेका छन् । बहस चलिरहँदा पनि माइक्रो ब्लगिङ वेबसाइट एक्समा धेरै प्रयोगकर्ताहरूले ह्यारिसको अनौठो झुम्काबारे उल्लेख गरेका थिए । त्यसपछि उनले अडियो इयरिङ लगाएको चर्चा चुलियो ।
खासगरी यो आरोप डोनाल्ड ट्रम्प समर्थकहरूले लगाइरहेका छन् । ह्यारिसले कानमा लगाएको झुम्का इयरफोन हुन सक्ने उनीहरूको दाबी छ । ह्यारिसले ट्रम्पसँगको बहसमा अरूको मद्दत लिन यी झुम्का प्रयोग गरेको दाबी उनीहरूको छ ।
बहसका क्रममा ह्यारिसले ती झुम्काबाट सहायता लिएको दाबी एक प्रयोगकर्ताले गरेका थिए । तर केही प्रयोगकर्ताहरूले ह्यारिसलाई समर्थन गर्दै ट्रम्पका समर्थकहरूको दाबीलाई अस्वीकार गरेका छन् ।
ह्यारिसले लगाएको इयरफोन जस्तै देखिने झुम्का टिफनी हार्डवेयर मोती झुम्का हुन सक्ने उनीहरूको ठहर छ । तर उनले अडियो इयरिङ्स नै लगाएको हो भन्ने बलियो प्रमाण भने केही पनि भेटिएको छैन ।


















