नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा रक्त क्यान्सरको उपचार गराइरहेकी १६ वर्षीया बालिका बिपसा खवासलाई दुई लाख ३० हजार ६६५ रुपैयाँ आर्थिक सहयोग भएको छ । घरको आर्थिक अवस्था कमजोर हुँदा खवासको उपचारमा समस्या भएको थियो । यसपछि युकेमा रहेकी सुनु तुम्बापो गुरुङ र सुकप्रसाद लिङ्देनले दुई लाख १४ हजार रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरेर पठाएका थिए ।
त्यसमा कतारमा बस्दै आएकी पाँचथरको फिदिम नगरपालिका– ७ रानिटारकी सुरक्षा थुलुङले ११ हजार ६ सय ६५ रुपैयाँ र फिदिम नगरपालिका–४, घर भई हाल सुडानमा बस्दै आएका निबन तुम्बापोले ५ हजार सहयोग गरेका थिए ।
यसरी विदेशमा रहेका पाँचथरेहरूले रक्त क्यान्सरसँग लड्दै आएकी खवासको उपचारका लागि दुई लाख ३० हजार ६६५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
उक्त सहयोग रकम फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावती र समाजसेवी दिलकुमारी तुम्बापोको उपस्थितिमा बालिकाकी आमा सीता खबासलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम पाएपछि बिपसाकी हजुरबुबा मानबहादुर खबासले धन्यवाद व्यक्त गरे । आर्थिक अभावले आफ्नी नातिनीको उपचारमा समस्या भइरहेका बेला विदेशमा रहेका पाँचथरेहरूले गरेको सहयोगले उपचारमा सहजता हुने बताए ।



















