काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताको आइतबार रातीदेखि भीड बढेपछि पार्टीका सभापति रवि लामिछानेले नेता–कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन् ।
सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरे लगत्तै लामिछानेले आकस्मिक भेला बोलाई उपत्यकाका कार्यकर्तालाई केन्द्रीय कार्यालय आउन सर्कुलर जारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताको हिजो रातीदेखि नै भीड लागेको हो ।
बाग्मती मिडिया नेटवर्कका सञ्चालक छबिलाल जोशीलाई प्रहरीले नियन्त्रणमा लिएपछि र रास्वपाका सभापति रवि लामिछानेलाई पनि कास्की अदालतले पक्राउ गर्न अनुमति दिएपछि आकस्मिक रुपमा सभापतिले बोलाएको बैठकमा भेला भएका नेता तथा कार्यकर्तालाई सजक र संयमित रहन सभापति लामिछानेले आग्रह गरेका छन् ।
लामिछाने पक्राउ पर्ने संकेत पाएपछि आइतबार राती रास्वपाका कार्यकर्ता, समर्थक, सञ्चारकर्मी लगायत सर्वसाधारण रास्वपा कार्यालय पुगेका थिए । रास्वपा सभापति लामिछानेका व्यापारिक साझेदार छविलाल जोशी पक्राउ परेपछि रास्वपाले उपलब्ध नेता–कार्यकर्ता पार्टी कार्यालयमा जम्मा हुन खबर गरेको थियो ।
पार्टी कार्यालयमा कार्यकर्तादेखि शुभेच्छुकहरु गएराति देखिनै भेला भएका हुन् । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।


















