संयुक्त राज्य अमेरिकाको बिसकन्सिन राज्यको राजधानी म्याडिसन सहर नेपालीहरूको आकर्षणको केन्द्र बन्न पुगेको छ । यहाँ रहेको बिसकन्सिन विश्वविद्यालय अमेरिकाकै एक अब्बल शैक्षिक संस्थामा गणना हुन्छ । यसै विश्वविद्यालयमा अध्ययन गरी कालान्तरमा यतै रोजगारीमा संलग्न नेपालीहरूको सङ्ख्या अभिवृद्धि हुँदै गएको छ । चिकित्सा एवं प्राविधिक क्षेत्रका विशेषज्ञ नेपालीका लागि पनि यो उर्वर क्षेत्र भएको छ । हाल यस सहरमा स्थायी रूपमा बसोबास गर्ने नेपालीहरूको सङ्ख्या करिब दुई हजार पुगेको अनुमान गरिएको छ ।
बिसकन्सिनका केही उत्साही युवाहरूले सङ्गीतको माध्यमद्वारा नेपाली भाषा र संस्कृतिको पहिचान जोगाउन सन् २०२१ मा आर्जन डाइनामिक्स नामक सङ्गीत साधना गर्ने संस्था खोलेका छन् । यस संस्थाले लोक र पप शैलीका साङ्गीतिक उपहार पस्कने गरेको छ । यसले शैक्षिक एवं भक्ति सङ्गीतका धेरै गीत तथा भिडियो बनाउँदै आएको छ । यसै संस्थाको एउटा शाखा हो, किड्स डाइनामिक्स ।
यसले नेपाली बालबालिका लक्षित गीत सङ्गीत प्रस्तुत गर्ने गरेको छ । यसै क्रमको पछिल्लो कडीका रूपमा एउटा बालगीत अमेरिकामा रहेका नेपाली बालबालिकाहरूले उपहार पाएका छन् । यस गीतकी रचयिता अर्चना धाख्वा हुन् भने सङ्गीतकार सिजर कोइराला हुन् । साथै व्यवस्थापकीय संयोजन निकिता मिश्र तथा श्रीजन श्रेष्ठको रहेको छ । यस गीतमा लाक्पा डोमा शेर्पा र प्रितम राईले मधुर स्वर दिएका छन् ।
उक्त बालगीतको शब्दसंयोजन यसप्रकार छ ।
अबेला उठेँ म
भएन है हतार
स्कुल जानु पर्दैन
आज त शनिबार ।
आइतबार बिहान
पौडी खेल्न जाने म
आमाबाबासँग भरे
बाहिर खाना खाने म ।
ओहो छिटो उठ्नु छ
सोमबार त सबेर
स्कुल जाने दिन हो नि
गर्न हुन्न अबेर ।
कति धेरै काममा छ
आज मङ्गलबारको दिन
बिहान स्कुल साँझ पियानो
छैन फुर्सद एकैछिन ।
बुधबारको रमाइलो
मेरो तालिम नाचको
धेरै साथीसँगै नाच्छन्
कक्षा तीनदेखि पाँचको ।
पढ्दा पढ्दा थाकेँ म
बल्ल बिहीबार भो (उफ)
एउटा लामो छुट्टी मेरो
कहिले आउने हो ?
आज घर फर्केपछि
छिटो लुगा फेर्छु म
शुक्रबार हो पाइजामा लगाई
आरामसँग टिभी हेर्छु म ।
यो गीत अमेरिकामा रहेका नेपाली बालबालिकामा समर्पित छ । यसमा गीति माध्यमबाट नेपाली भाषा सिकाउने सार्थक प्रयास पनि भएको देखिन्छ । शनिबारदेखि आइतबारसम्म हप्ताका सातै दिन केटाकेटीको मानसिकताको सुन्दर अभिव्यक्ति यस गीतमा पाइन्छ ।
हप्ताका साथै दिन बारैपिच्छे गरिने क्रियाकलापको वर्णन पनि गीतमा गरिएको छ । सप्ताहान्तका दिनहरू आनन्दपूर्वक बिताउनुपर्ने चिन्तन गीतमा अभिव्यक्त गरिएको छ । मातापितासँग बाहिर खान जाने, पौडी खेल्न जाने, टिभी हेर्ने जस्ता कार्यबाट सप्ताहान्तका दिनमा आनन्द लिने अरू पाँच दिन विद्यालय र पढाइका साथै अन्य क्रियाकलापमा व्यस्त हुनुपर्ने सन्देश गीतको माध्यमबाट सञ्चार गरिएको छ ।
यस गीतमा नेपाली बालबालिकाले हप्ताका सातै दिन गर्नुपर्ने अपेक्षित कार्यको वर्णन गरिएको छ । सङ्क्षेपमा भन्ने हो भने यो गीत कर्णप्रिय, बालविनोदी एवं सन्देशमूलक छ । गीतका माध्यमबाट सिकाइमा प्रभावकारिता आउँछ भन्ने तथ्य पनि साबित गर्न खोजिएको छ ।
सङ्गीतको माध्यमबाट अमेरिकामा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृतिप्रति मोह जगाउन आर्जन डाइनामिक्सले गरेको निस्वार्थ प्रयास स्तुत्य छ । भविष्यमा पनि यस्तै सराहनीय कार्य गर्न संस्था सफल रहोस् । हार्दिक शुभकामना ।
प्राडा तीर्थप्रसाद मिश्र
म्याडिसन बिसकन्सिन
२१ सेप्टेम्बर २०२४


















