बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग मङ्गलवार पनि बयान लिइने भएको छ । सोमबार बयान नसकिएपछि उनलाई मंगलबार पनि बयान लिइने भएको हो ।
कास्कीबाट सोमबार दिउँसो रुपन्देही ल्याइएका जोशीलाई साँझ पौन सात बजेसम्म बयान लिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा दिउँसो बाट लिएको बयान नसकिएपछि भोलि फेरि बयानलाई निरन्तरता दिने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्याधिवक्ता प्रेमराज पौडेलले बताए।
बुटवलको सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दामा अनुसन्धान गर्नका लागि कास्की प्रहरीले उनलाई रुपन्देही पठाएको र यहाँ बयान लिएपछि पुन कास्की नै पठाइने उनले बताए । पूर्वडीआईजी जोशीलाई आज जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने जिल्ला प्रहरी कार्यालय रुपन्देही का एसपी प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले बताए ।
उनले भने, ‘भोलि पुनः कार्यालय समयबाटै बयान सुरु हुन्छ, त्यसपछि बयान कति समय चल्छ त्यसमा निर्भर हुन्छ ।’ गोरखा मिडिया नेटवर्कमा जीवी राई र रवि लामिछानेका तत्कालीन साझेदार रहेका सो कम्पनीका तत्कालीन उपाध्यक्ष जोशीलाई सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी पूरक अनुसन्धान गर्नुपर्ने भएपछि पोखराबाट भैरहवामा ल्याइएको हो । जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।
अदालतले कार्तिक ८ गतेसम्म थुनामा राख्नुपर्ने म्याद तोकेका कारण भोलि र पर्सी जिल्ला अदालत रुपन्देहीमा पेस गर्न नपर्ने एसपी राठोरले बताए । उनले ९ गतेसम्म राख्नुपर्ने अवस्था आएमा मात्रै जिल्ला अदालत पेस गरिने अन्यथा बयान सकेर कास्की नै पठाइने जानकारी दिए ।
पोखराको सूर्य दर्शनबाहेक बुटवलको सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झन्डै १५ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको देखिएको छ ।
त्योमध्ये गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेको नाममा २ करोड र छविलाल जोशीका नाममा २ करोड ५० लाख देखिएको छ ।
सुप्रिम सहकारीको ९६ करोड रकम अपलन भएको भन्दै २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ। उक्त मुद्दामा ८ जना पक्राउ परेका थिए । जसमा अध्यक्ष ओमप्रकाश गुरुङ जिल्ला कारागार रुपन्देहीमा छन् भने दीपेश पुनसहित ७ जना धरौटीमा रिहा भएका छन् । जेबी राई लगायतका केही व्यक्ति अझै फरार रहेका छन् ।


















