मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता सुरु भएको छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
कीर्तिपुरको मेयरमा नेसपाका दिलकुमार महर्जन
कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा हुने उपनिर्वाचनका लागि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) ले उम्मेदवारी दर्ता गरेको छ।
नेसपा (नयाँ शक्ति) का तर्फबाट दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत ईन्दिरा कार्कीले जानकारी दिइन्।
कीर्तिपुरमा स्वतन्त्रबाट अधिकारीले दर्ता गरे मेयर पदमा उम्मेदवारी
कीर्तिपुर नगरपालिकामा दिनेशकुमार अधिकारीले स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार उनले नगरपालिका कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
कीर्तिपुरमा राप्रपाबाट मेयर पदमा ध्रुव महर्जन
राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेको छ । सो पार्टीको तर्फबाट आइतबार ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।
कीर्तिपुरमा जसपा नेपालबाट तेस्रो लिङ्गी उम्मेदवार
जसपा नेपालले कीर्तिपुर नगरपालिकामा तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ । आइतबार सो पार्टीका तर्फबाट हनि महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । पिछडिएको सीमान्तकृत समुदाय र यौनिक तथा लैङ्गिक समुदायलाई ल्याउने उद्देश्यले उनलाई उम्मेदवार बनाइएको जसपाले जनाएको छ ।
कीर्तिपुर नगरपालिकाको मेयरमा एमालेका सुरेन्द्र मानन्धरले गरे दर्ता
कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार नगरपालिकाको कार्यालय पुगेर मानन्धरले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
कीर्तिपुरमा नेपाल मजदुर किसान पार्टीको उम्मेदवारी
कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दिएको छ । सो पार्टीबाट श्रीकृष्ण महर्जन मेयरको उम्मेदवार बनेका छन् ।
कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवार बानियाँको दर्ता
कीर्तिपुर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार डा.नवरथकुमार बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार उम्मेदवारी दर्ता गर्दै बानियाँले दलीय उम्मेदवारले चुनाव जित्दा बेथिति र निराशा बढाएको भन्दै आफूले उक्त बेथिति र निराशा चिर्न उम्मेदवारी दिएको दाबी गरे ।
कीर्तिपुरमा सरसफाइ अभियन्ता महर्जनले गरे मेयर पदमा दर्ता
कीर्तिपुर नगरपालिकामा सरसफाइ अभियन्ता राजमान मानव महर्जनले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार उनले नगरपालिका कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।


















