एमालेको जागरण सभास्थल परिवर्तन

नेकपा (एमाले)ले मंसिर ७ गते काठमाडौंमा हुन लागेको जागरण सभाको कार्यक्रमस्थल परिवर्तन गरेको छ। जागरण सभा यसअघि भृकुटीमण्डमा हुने भनिएको थियो। जागरण सभा संयोजन समितिका संयोजक राजन भट्टराईले बुधबार सूचना जारी गर्दै सभा दरबारमार्गमा हुने जानकारी दिएका छन्।

जागरण सभाअघि हुने र्‍याली पूर्वनिर्धारित समयमै भद्रकालीबाट सुरू हुने भट्टराईले जानकारी दिएका छन्। भद्रकालीबाट सुरू हुने र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ। भट्टराईले ट्राफिक व्यवस्थापन पनि सोही बमोजिम मिलाउन आग्रह गरेका छन्। एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा गर्न लागेको हो।

मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको एमालेले जनाएको छ। जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुऱ्याउने उद्देश्य लिएको भट्टराईले जानकारी दिएका छन्।