इन्स्पेक्टरसहित थुनिएका सरकारी कर्मचारीको दुई घण्टापछि उद्धार

 

१४ कात्तिक, बारा । बाराको फेटा गाउँपालिकामा शनिबार बिहान भएको झडप भएको छ । त्यसक्रममा अस्पतालमा तोडफोड तथा मोटरसाइकलमा आगजनी समेत भएको छ । झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । ढुंगामुढा लागेर अन्य पाँचजना प्रहरी पनि घाइते भएका छन् ।
प्रहरीको गोली लागेर बाराको फेटा गाउपालिका ३ का १५ बर्षीय आदित्य पासवान घाइते भएका छन् । उनलाई एउटा तिघ्रामा गोली लागेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिए ।

घाइतेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रवक्ता एसएसपी ढकालका अनुसार झडप नियन्त्रणमा लिन खोज्दा ढुंगामुढा लागेर ५ जना प्रहरी घाइते भएका छन्
फेटा गाउँपालिकामा १५ बेडको नवनिर्मित हस्पिटल उद्घाटनको कार्यक्रम रहेको थियो । सो पालिका राष्ट्रिय स्वतन्त्रत पार्टीको एक मात्र जनप्रतिनिधि भएको पालिका हो । विवेकशील साझाबाट पालिका अध्यक्ष जितेका छन् ।
पार्टी चुनावका बेला रास्वपामा समाहित भयो । शनिबार हस्पिटल उद्घाटन गरी पालिकालाई हस्तान्तरण गर्न विगतमा विवेकशील साझाकी र वर्तमान रास्वपा प्रतिनिधि सभा सदस्य समीक्षा बास्कोटा आएकी थिइन् ।
प्रशासनका अनुसार यो उद्घाटन रोक्न र शिलालेखमा भएको नाम हटाउन निवर्तमान पालिका अध्यक्ष अमिरीलाल साह कानुले चाहेका थिए ।
उनी नेकपा एमालेबाट जित्दा अस्पताल निर्माणको थालनी भएको थियो । त्यसकारण उनीसहितका एमाले नेता कार्यकर्ताले उद्घाटन रोक्न पहिले नै चेतावनी दिएको थिए ।
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार, रास्वपा सांसदले उद्घाटन गर्ने भएपछि स्थानीय एमाले नेताहरूले जिल्ला प्रशासनसमक्ष आफुहरुले कार्यक्रम बिथोल्ने चेतावनी दुई दिन अघिनै दिएका थिए ।

एमालेसहित स्थानीय समेत रहेका शिक्षक लालबाबु साह दुईजनाको नेतृत्व समेत विरोधको नेतृत्व गरेका थिए ।

‘आज फेटामा भएको घटनाको पूर्व जानकारी गराउने शिक्षकका विषयमा दुईदिन अघिनै हामीले शिक्षा कार्यालयलाई जानकारी गराएका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।

मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी ढकालका अनुसार कार्यक्रम स्थलमा निवर्तमान अध्यक्षको नेतृत्वमा अढाइ सय जति मानिसहरू आएर आक्रमण गरेका थिए । त्यसपछि झडप भएको थियो ।

त्यस क्रममा प्रदर्शनकारीले १० वटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

बाराका प्रजिअ अधिकारीका अनुसार अस्पताल परिसरमा शिलालेख र उद्घाटनका लागि तयार टेण्ट तोडफोड भएपछि प्रहरीले लाठीचार्ज गरि भिड तितरबितर पारेको थियोे । आक्रोशित प्रदर्शनकारीले अस्पताल परिसरमा रहेका १० वटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
सो क्रममा अस्पताल परिसरमा थुनिएका १० जना स्वास्थ्यकर्मी र केहि सुरक्षाकर्मीलाई प्रहरीले उद्धार गरेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।