अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक / दुईवटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताएका छन्। फ्लोरिडास्थित आफ्नो निवासमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानका बाँकी लक्ष्यमा १० मिनेटमै आक्रमण गर्न सकिने बताएका हुन्। उनले बाँकी लक्ष्यमा ‘पिकएक्स माउन्टेन’ नामक शङ्कास्पद आणविक स्थलसमेत रहेको उल्लेख गरे।
ट्रम्पले अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको पनि बताए। यद्यपि, इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने उनको टिप्पणी थियो। अमेरिका तत्काल थप सैन्य कारबाही गर्न हतारमा नरहेको दोहोर्याउँदै ट्रम्पले इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्याइसकेको दाबी गरेका छन्।


















