गुरुकुलमा पढ्दा क मोटो थियो, अहिले दुब्लाएको छ, ख पछि ग माने गाई पढेको, भ माने भकारी पनि मोटै थियो, ध माने धानको । अहिले त्यस्तो छैन । ज्ञ माने ज्ञान पढेको, अहिले ज्ञान पनि अल्मलिएको छ, मंसिर महिना धानको भकारी हुनु पर्ने नेपालीहरुको घरमा ५ केजी आयातित चामल कोठामा आउन थालेको छ, बाढीले देश बग्ने असौज, सडक दूर्घटनाले देश बग्ने कार्तिक र प्रदूषणले अब्बल हुने मंसिर भएको छ ।
हिजोआज इलेक्टृोनिक पढाइ हुन्छ, पठन संस्कृति छैन, बोर्डिँग स्कूलहरुले मनग्गे पैसा लिन्छन्, नपढे पनि पास गराइदिन्छन् । बाल्य जीवन हाम्रो कठिन थियो पढ्नै पर्ने । बाह्रखरी पढ्दाको याद आउँछ, भ माने भकारी ग माने गणेश, तर अहिले भकारीमा धान छैन, अबको पढाइ भनेको भ माने भरिया भई ख माने खाडीमा जाउँ भन्ने हो, र ग माने गणतन्त्र हो र त देशको अर्थतन्त्र विप्रेषणमा चलेको छ, पेट भने विदेशको चामलमा । देशमा नेताहरुले ठूला ठूला भाषण दिए, समृद्धिको नारा पनि खन्याए, तिनलाई जिताउने दिन नै खाडीमा जाने नेपालीहरुको भीड देखियो । चुनावको दिन मात्रै होइन विगत सबै दिन सायद विदेश नहिँडेको दिन छैन, र त हरेकवर्ष करिव १० लाख नेपालीले पासपोर्ट बनाउँदै छन्, लोकतन्त्र, संघियता, गणतन्त्रको उपहार यही भएको छ । मंसिरसंगै अर्को चुनाव आइसकेको छ देशमा ।
उब्जनीमा ओरालो त पहिले नै लागेको हो, धान, गहुँ, मकै सबैलाई चाहिने विदेशी रासायनिक मल हो, सरकार समयमा मल आपूर्ति गर्न सक्दैन, कारखाना खोल्ने भनिरहन्छ । देशमा नीति प्रधान नभई नेता प्रधान भएपछि सबैजसो उद्योगधन्दा बत्ती बालेर खोज्नु पर्ने बेलामा मलको कारखानाबाट उत्पादन आउने भनेको मेलम्चीबाट काठमाडौँ धुने पानी भन्ने उखानभन्दा कम छैन, पूर्वाधार ढलेको छ, धरहरा फेरि बन्द भएको छ । अहिले सबै दल खास गरी ठूला दलहरुले देशमा रासायनिक मल कारखाना स्थापना गर्ने चुनावी एजेण्डा दिएका छन् तर त्यसमा लाग्ने लागतको स्रोतका बारेमा कुरा गरेका छैनन् । राजनीतिक प्रणालीप्रति जनविश्वास घटेको छ, उत्साह छैैन, अल्पमतले रजाइँ गर्छ, बहुमत भए सिद्धान्त विपरीत हुन्छ । एक दलले अर्कैको चिह्न लिएर चुनावमा जान्छ ।
गहूँ, आलु बालि लगाउने बेला छ अहिले, गाउँ, घर खालि छ, । कोरोना पछि डिँगो, आलोपालो सबै रोग यहीँ आउनु पर्ने, नभए सवारी दूर्घटनाबाटै धेरै सिद्धिनु पर्ने हाम्रो नियति भएको छ । मंसिरमा धान भित्र्याउने बेला सबैजसो किसानलाई भोटको लाइनमा राखियो पहिले । किसानले अपेक्षा गरेको सिँचाइ, मल, बीउ, बीजन भने सरकारले उपलब्ध गराउन सकेको छैन, न सुलभ ऋण वा औजार नै, प्रविधि त कहाँ छ र कृषि यान्त्रिकरणको कुरा पनि बजेट वक्तव्यमा मात्रै हुने गरेको छ । मीन अर्थात् माछालाई पनि जाडो हुने, ५० दिनसम्म जाडोको सकेंत मीन पचासको समय, घाँस, चरन एवं हरियालीमा कमी र मुख्य धानबाली भित्र्याई वर्षभरि सुख, सन्तोष र धनधान्यकी प्रतीक लक्ष्मीको विशेष पूजा गरिने समय हो यो तर किसानका घरमा भकारी छैन । र त कृषि प्रधान देश भन्न पनि असहज हुँदैछ । अर्बौ रकम विदेश पठाएर धान, चामलको आयात गर्दैछौँ हामी ।
गहूँ, कोदो, भटमास, मकै, फापर, जौँ, फलपूmल, माछा, मासु भनौँ दैनिक खाद्यान्नका सबै सामान वा भनौँ चाड बाडमा प्रयोग हुने सबैजसो सामान आयात भइरहेको छ र त देश विदेशी ऋणमा छ ठूलै व्यापार घाटामा छ । नीति निर्माताहरु भने केवल चुनाव, गठबन्धन, सत्ता बाँडफाँट्, भनौँ आप्mनो स्वार्थतिर छन् । कृषि उब्जनीमा लाग्ने हातहरु खाडीतिर, खुट्टाहरु राजनीतिको झोला बोकी महाधिबेशन, दलको चुनावी प्रचार प्रसार, घरदैलो कार्यक्रममा व्यस्त छन् । देशमा हरेक दिन चुनावी माहोल मात्रै छ, यसै मंसिरमा पनि उप चुनाव नै छ, खेती र किसानी माहोल भने बनेन । कुनैबेला हामी धान चामल निर्यात गथ्यौँ । राजनैतिक दर्शनहरु, आप्mनो माटो सुहाउँदो दर्शन यहाँ छैन र त यहाँ विदेशीहरु खूब घुम्छन् जनता सुक्ने नेता फुक्ने दर्शन छ यहाँ ।
कृषि, गोरक्षा, पशुहरुको सम्मान गोठपूजा, घरघरमा गैडुपूजाले संस्कार पाएको थियो पहिले, अब त्यो क्रम घटेको छ, सबैजसो सहरमुखी भएका छन्, गाउँका बारी, खेत जहाँ अन्न उब्जा हुन्थ्यो त्यहाँ असारे डोजरे विकास भएको छ, खेतमा पीच भयो तर पिचमा गुडाउने सामान विदेशबाट ल्याउने देश हो हाम्रो । कागदेखि सर्प सम्मलाई सम्मान गछौँ हामी, गथ्र्यौँ पनि, धान रोपाइँ गर्ने दिन खेतको आलीमै कपासको प्यूरी समेत राखेर नागको पूजा गथ्र्यौँ, सहकालका देवता भन्दै मत्स्येन्द्रनाथको पूजा गथ्र्यौँ, नाग पोखरी, सुन्धाराका नागदेवता, टौदहको नागदह, पशुपतिको बासुकी नाग, शिवगलाको नागमणि सबैलाई पूजा गछौँ अहिले पनि । किसानहरुले धान भित्र्याएपछि धानको भकारीमा कुवेरको प्रतीक बिमिरो राखी धान्यलक्ष्मीको पूजा गथ्र्यौँ पहिले । हिजोआज खेतको खलाबाटै मोलतोल गरी केही उब्जाबालिलाई बजारमा पठाइने गर्नाले पनि धान भनौँ लक्ष्मीको सह भएको छैन र २ किलो चामल बजारबाट झोलामा प्याक् गरी त्यो पनि स्कुटीमा राखेर कोठामा ल्याउने गरिएको देख्छौँ ।
नाँग्लो, डालो, खेत, बारी, भकारी, नाम्लो, डोको, ढिकी, जाँतो, घट्ट, चोया, निगालो, बाँस, बाबियो, गोठ, गहँुत, गोबर आदि शब्द अब शव्दकोषमा सीमित भएकाछन् । लक्ष्मी र गणेशको पूजा गरी धान्य पर्वत दान गर्ने समेत चलन भएको धान्य पूर्णिमा मार्गमै पर्ने हो त्यो पनि बिर्सन लागेको अबस्था छ । यसै दिन सामूहिक रुपमा मान्छेको उचाइ बराबर मौलो राखी वरिपरिबाट धानको पहाड लगाउनाले धनको वर्षा हुने मान्यता रहेको थियो पहिले । विज्ञान विज्ञान भन्दै हाम्रो ज्ञान भड्किएको अबस्था छ, पश्चिमाले बत्ती निभाएर गर्ने बर्थ डे संस्कृति जस्तो भएको छ ।


















