एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान

नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरुको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ ।

हालै सम्पन्न भएको एनपिएलमा वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका शेख दाजुभाई फरक–फरक टिमबाट सहभागी हुनु भएको थियो । वीरगञ्ज–१० कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रमा दुवै खेलाडीलाई जनही ५१ हजार नगदसहित प्रशंसापत्रले सम्मान गरिएकोे हो । वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानुले वीरगञ्जको प्रतिनिधित्व गर्दै दुवै खेलाडीले एनपिएलमा उत्कृष्ट प्रर्दशन गर्दै वीरगञ्जको नाम राख्न सफल भएको बताए ।

“दुवै खेलाडीले वीरगञ्जको नाम मात्र गर्वले उच्च बनाउनु भएको छैन, आगामी दिनमा युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न प्रेरणा पनि दिएको छ,” उनले भने, “आगामी दिनमा दुवै खेलाडीले अझ ठूलो सफलता होस् भन्ने शुभकामना दिन चाहान्छु । वीरगञ्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तरर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा म जहिले पनि साथ दिन तयार छु ।”

जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफले यस्ता खालका सम्मानले खेलाडीलाई थप उत्साह थप्ने बताए । त्यस्तै सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफले आगामी दिनमा खेललाई अझै निखार्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे ।