राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको तीन वर्ष पुग्न लागेका बेला राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूसँग संवादमा जुटेका छन्।पृथ्वीजयन्ती नजिकिएका बेला अध्यक्ष थापाले राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूसँग संवाद बढाएका हुन्। अध्यक्ष थापाले आफूले राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूसँग संवाद गरेको बताएका हुन्।अध्यक्ष थापाले पछिल्लो समय राप्रपा अध्यक्ष लिङ्देन, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे, उद्धव पौडेल, मोहन श्रेष्ठलगायत नेताहरूसँग पार्टी एकतालगायत विषयमा कुराकानी गरेका हुन्।आफूले राप्रपा नेताहरूसँग पार्टी एकताबारे कुरा गर्दा जबाफ सकारात्मक आएको पनि थापाले जानकारी दिए। २०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुँदा लिङ्देन विजयी भएका थिए।अध्यक्षमा पराजित भएपछि २०७८ माघ २५ गते थापाले गृहजिल्ला मकवानपुर पुगेर ’अत्यन्त भारी मन र पीडाबोधका साथ राप्रपाबाट अलग हुने निर्णय गरेको’ भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए।


















