बाबुराम भट्टराईको लयमा भीम रावल !

संविधान जारी भएपछिको साता दिनमै ‘रातो स्टिकर टाँसेको घर’ भन्दै डा. बाबुराम भट्टराईले माओवादी परित्याग गरे । १० वर्षे ‘जनयुद्ध’का एक शीर्ष नेता भट्टराईको माओवादी परित्याग अप्रत्याशित थियो । अझ अनौँठो त के थियो भने उनले वामपन्थ नै त्यागेका थिए ।
३० जेठ २०७३ मा काठमाडौंमा गैरवामपन्थी दल नयाँ शक्ति पार्टी घोषणा गरे । उनको शब्दमा उक्त दल वैकल्पिक शक्ति थियो । सोही दलको घोषणासभामा एक लाख बढी मानिस सहभागी थिए । त्यसले डा. भट्टराईलाई हौसिएका थिए ।
तर, एक वर्षपछि २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा नयाँ शक्तिबाट चुनाव जित्ने भट्टराई एक्ला नेता भए । त्यो पनि कांग्रेसको समर्थनमा ।
डा. भट्टराईको नेतृत्वमा पार्टी घोषणासभामा जसरी माहोल देखिएको थियो, चुनावसम्म आइपुग्दा उक्त माहोल पानीको फोकाजस्तै भयो । अहिले त उनी राजनीतिक रूपमा टाट पल्टिएका छन् ।
हालै एमालेले निष्कासन गरेका डा. भीम रावल नयाँ दल ‘मातृभूमि जागरण अभियान नेपाल’ घोषणा गरेर गृहप्रदेश सुदूरपश्चिम पुगेका छन् ।
त्यहाँ उनको पक्षमा माहोल देखिएको छ । उनको समर्थनमा कैलालीको धनगढी विमानस्थल, अत्तरिया हुँदै अछामको रामाशोसनसम्मै नाराबाजी भएको छ । उनको स्वागतमा समर्थक र शुभेच्छुकहरूले ठाउँठाउँमा राष्ट्रिय झण्डा फहराएका छन् ।
तर, उनलाई एमालेबाट हटाउने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको भने विरोध भएको छ । उनको विरुद्ध अछाममा समेत नाराबाजी भयो ।
हालै कोशी प्रदेशको राजधानी विराटनगर होस् वा नजिकैको इटहरी सहरमा पनि रावलको पक्षमा माहोल देखिएको थियो । उनले इटहरीमा त राजावादीहरूलाई आफ्नो पक्षमा लिनेगरी भनेका थिए, ‘राजा फालेर गणतन्त्र ल्याउने दोस्रो जनआन्दोलनको उद्देश्य थिएन, बीचमा घुसपैठ भयो ।’
गत २७ पुसमा राप्रपाले पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पनि रावलको पक्षमा नाराबाजी भएको थियो । त्यसअघि उनले मातृभूमि जागरण अभियान नेपाल घोषणा गर्दा पनि काठमाडौंमा ठूलो जमात देखियो । यसबाट भीम रावल हौसिएका छन् ।
तर, के उनलाई जनताले वैकल्पिक शक्ति निर्माणका लागि साथ दिन्छन् ? कि देखिएको भीड बलेँसीमा देखिने पानीको फोकाजस्तो मात्रै हुने हो ? प्रश्न उब्जिएको छ । कतिपय राजनीतिक विश्लेषकहरू भने रावल पनि डा. बाबुराम भट्टराईको हालतमा पुग्न सक्ने विश्लेषण गर्छन् ।
यद्यपि, रावलले आफू नेतृत्वको अभियानलाई हिउँ आँधीसँग तुलना गर्दै अभियानले अन्य दलहरूलाई धक्का दिने दाबी गरेका छन् । उनले भनेका छन्, ‘हिमालमा हिउँको डल्लो गुडिरहेका बेला सानो देखिन्छ । पछि त्यसले हिम आँधीको रूप लिन्छ । हामीसँग देशको हित चाहनेहरू जुनसुकै पार्टीका सदस्य भए पनि जोडिनुहुन्छ भन्ने विश्वास छ ।’
रावल राजावादीदेखि गणतन्त्रवादीहरूसम्म अँट्ने दल बनाउने भन्दै अभियानमा सक्रिय भएका छन् । त्यसकै लागि उनले राष्ट्रवादी धारको दलको रूपमा मातृभूमि जागरण अभियान नेपाल प्रस्ताव गरेको विश्लेषण हुँदै आएको छ । यो दल गैरकम्युनिस्ट हो ।
जबकि, रावल कम्युनिस्ट राजनीति गरेर पर्यटनराज्यमन्त्री, पर्यटनमन्त्री, रक्षामन्त्री, गृहमन्त्रीसँगै उपप्रधानमन्त्रीसम्म भई सत्ताभोग गरिसकेका कम्युनिष्ट नेता हुन् । यसले रावल वैचारिक र राजनीतिक रूपमा बेइमान नेता भएको कपितयले टिप्पणी गर्दै आएका छन् ।
यसअघि झण्डै ४० वर्ष कम्युनिस्ट राजनीति गरेर अर्थमन्त्री हुँदै प्रधानमन्त्री भएका डा. भट्टराईले २०७२ असोजमा माओवादी मात्रै छाडेनन्, वामपन्थ नै छाडेका थिए । अहिले ठ्याक्कै त्यही लयमा रावल देखिएका छन् ।
त्यही भएर एमालेबाट हटाएपछि ५ दशक लामो समय कम्युनिस्ट राजनीति गरेका र हाल राष्ट्रवादी दल बनाउने भन्दै अभियान चलाइरहेका भीम रावलको पनि हालत यस्तै हुने त होइन ? संशय छ । तर, उनको प्रभाव अधिक सुदूरपश्चिम प्रदेशमा देखिएको छ, जुन उनको गृहप्रदेश पनि हो ।
एमालेमा छँदा पनि उनी सुदूरपश्चिममा शक्तिशाली नेता थिए । उनी पार्टी सङ्गठनमा निकै प्रभावशाली थिए । त्यही भएर उनको बोली बिक्थ्यो । त्यसकै बलमा अध्यक्ष ओलीसँग पार्टी र राजकीयसत्ता स्वार्थकेन्द्रित सङ्घर्षमा रावल थिए । अन्ततः रावल पार्टीबाटै हटाइए । उनी एमालेमा हुँदा राष्ट्रियताको पक्षमा खरो बोल्ने नेता थिए । उनले जबजसर््त राष्ट्रवादको पक्षमा बोल्ने नेताको पहिचान बनाए । उनै रावल आफू नेतृत्वमा गठन हुने दलको नाम नै मातृभूमि जागरण अभियान नेपाल प्रस्ताव गरेर गृहप्रदेश सुदूरपश्चिम गएका हुन् ।
सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले रावल गृहप्रदेशपछि देशका अन्य प्रदेशमा पनि जाने बताए ।
‘हामीले झापादेखि महेन्द्रनगरसम्मै मातृभूमि जागरण अभियान सञ्चालन गर्ने भनेका छौँ, त्यसका लागि अहिले हामी अछाममा छौँ यसपछि हामी अन्यन्त्र जान्छौँ’, उनले प्रभावसँग भने ।
रावललाई नेकपा एमाले र नेकपा एसका नेता कार्यकर्ताले साथ दिएको देखिएको छ । हाल प्रदेश सांसद रहेका नेकपा एसका पूर्व नेता तारा जोशी रावलसँगै छन् । नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल पनि रावलसँगै देखिएका छन् । विभिन्न दलका असन्तुष्ट देशभक्त नेता कार्यकर्तालाई पार्टीमा जोड्ने रावलको रणनीति देखिएको छ । रावलले आफ्नो नेतृत्वमा वैकल्पिक शक्ति बनाउने बताउँदै आएका छन् ।
रास्वपासहितका नयाँ दलहरू विश्वसनीय नभएको एकथरीको गुनासो रहेको र देशमा हिन्दुराष्ट्र पुनःस्थापना गर्न सशक्त आन्दोलन गर्ने शक्ति राप्रपा नभएको अर्कोथरीको मत छँदा दुवैलाई समेट्नेगरी रावल अगाडि बढ्ने देखिएको टिप्पणी भइरहेको छ ।
यति हुँदाहुँदै पनि कांग्रेस, एमाले, माओवादीजस्ता स्थापित दलहरूप्रति पनि नागरिकहरूमा वितृष्णा छ । यस्तो अवस्थामा रावलले सबै विचार र समूहलाई समेट्नेगरी दल खोल्न लागेको बताउने गरेका छन् ।