ताप्लेजुङमा केबुलकार निर्माण स्थगन, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं– ताप्लेजुङको मुक्कुमलुङ भनिने पाथीभरामा केबुलकार निर्माणलाई लिएर उत्पन्न विवादबीच गोली प्रहारको घटना भएपछि ‘नो केबुलकार’ पक्षले गरेको अरुण–सभाखोला पूर्वका नौ जिल्ला बन्द खुलेको छ ।
मङ्गलबार राति अबेर सरकारी वार्ता टोली र ‘नो केबुलकार’ पक्षले गठन गरेको वार्ता सहजीकरण समितिबीच छ बुँदे सहमति भएसँगै बुधबार बिहानैदेखि बन्द खुलेको हो । डेढ साता लामो बन्दले अरुण–सभाखोला पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, झापा, मोरङ र सुनसरीको जनजीवन प्रभावित भएको थियो ।
आन्दोलनत पक्षको मागअनुसार सरकारी वार्ता टोली लचक भएर केबुलकार निर्माण कार्य रोकाउन सहमत भएसँगै आन्दोलनरत पक्ष बन्दको कार्यक्रम फिर्ता गर्न तयार भएको हो । अब सरकारी वार्ता टोली र आन्दोलनरत पक्षले गठन गर्ने वार्ता टोलीबीच यही २७ माघमा वार्ता हुने भएको छ ।
सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक रहेका सहसचिव प्रेमप्रसाद भट्टराई र ‘नो केबुलकार’ पक्षबाट वार्ता सहजीकरण समितिकी सरस्वता सिंगकले हस्ताक्षर गरेका छन् ।
सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘पाथीभरा केबुलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने ।’
सोमबार बसेको बैठकमा आन्दोलनरत पक्षको यो मागबारे सरकारी वार्ता टोली असहमत थियो । त्यसपछि छलफल बिना निष्कर्ष टुङ्गिएको थियो । तर, मङ्गलबार अबेर भने सरकारी वार्ता टोली लचक भएर केबुलकार निर्माण कार्य स्थगन गराउन सहमत भएको वार्ता सहजीकरण समितिमा रहेका राम मादेनले बताए ।
उनका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने दोस्रो सहमति भएको छ ।
यही १२ माघमा फुङ्लिङ नगरपालिका ११ को बलुडाँडामा भएको गोली प्रहारका घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति पनि भएको छ ।
आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरूको बिना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने सहमतिको चौथो बुँदामा छ ।
सहमतिअनुसार अब आन्दोलनरत पक्षले पनि अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने भएको छ । मुक्कुमलुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल २७ माघको ११ बजे बस्ने पनि सहमति भएको उल्लेख छ ।
केबुलकार निर्माणमा मुख्य लगानी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको छ । त्यहाँका स्थानीय आदिवासी लिम्बू समुदायले भने केबुलकार निर्माण गरिए मुन्धुमीस्थल मुक्कुमलुङ भनिने पाथीभराको महिमा नामेट हुने भन्दै चिन्ता प्रकट गर्दै आएका छन् । लिम्बू तथा हिन्दू समुदायको धार्मिक तथा साँस्कृतिक केन्द्रमा कुनै एक व्यापारीलाई पैसा कमाउने थलो बनाउन नहुने पनि उनीहरूको तर्क छ ।
यद्यपि, मुक्कुमलुङ भनिने पाथीभरालाई लक्षित गरी ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २ दशमलव ७ किलोमिटर लामो केबलकार निर्माण कार्य झण्डै दुई साता भयो । ढकाल नेतृत्वको पाथीभरा मुक्कुमलुङ केबलकार प्रालिले केबलकार निर्माणको काम गरेको थियो । अब भने स्थगन हुने भएको छ । २०७५ सालदेखि त्यस क्षेत्रमा केबलकार बनाउन हुँदैन भन्दै खासगरी लिम्बू समदायले विरोध गर्दै आएका छन् ।
तर, स्थानीय सरकार (फुङ्लिङ नगरपालिका), प्रदेश सरकारदेखि केन्द्र सरकारसम्मै एमाले नेतृत्वमा भएपछि केबुलकार निर्माणको कार्य १२ माघदेखि धमाधम भएको थियो ।
कोशी प्रदेशमा एमालेबाट मुख्यमन्त्री भएका हिक्मत कार्कीले केबुलकार निर्माण प्रयोजनकै लागि भनेर सशस्त्र प्रहरीलाई काफ्लेपाटी क्षेत्रमा खटाएका थिए । केन्द्र सरकार मातहत रहने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ठूलो सङ्ख्यामा नेपाल प्रहरी परिचालन गरेको छ । मङ्गलबारको सहमतिमा भने सुरक्षाकर्मी फिर्ता बोलाउनेबारे उल्लेख छैन । यसअघि आन्दोलनकारीहरूले सुरक्षाकर्मी पनि फिर्ता बोलाउनुपर्ने माग अघि सारेका थिए ।
उनीहरूले आन्दोलनका क्रममा यही आइतबारदेखि अरुण–सभाखोला पूर्वका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, झापा, मोरङ र सुनसरीमा आमहड्ताल गरेका थिए । त्यसअघि भने मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात बन्द गराएका थिए ।