आर्यन र केकीसहितको पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा अदालतमा दायर

नेपाली कलाकारहरू केकी अधिकारी, आर्यन सिग्देल, दीपकप्रसाद आचार्यसहितका कलाकारको किटानी जाहेरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले रोशन पराजुलीविरुद्ध केही दिनअघि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

आफ्नो नाम र कागजात दुरुपयोग भएको भन्दै केकी, आर्यन, दीपकसहित अन्य केहीले २०७९ सालमै पराजुलीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा जाहेरी दिएका थिए । पराजुलीले कलाकारको आवरणमा नर्वेमा फिल्म छायांकन गर्छु भन्दै मानव तस्करी गरेको आरोप छ ।

फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि केकी र आर्यनसहित १४ जनालाई नर्वे लैजाने भन्दै रोशन पराजुली नामका व्यक्तिले दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । दूतावासले काठमाडौंस्थित पर्यटन बोर्डमा टेलिफोन गरेर बुझेपछि यो प्रकरणको खुलासा भएको थियो ।

लगत्तै केकी, आर्यन र दीपकले फेसबुकमार्फत आफूहरुको संलग्नता नरहेको बताएका थिए । पराजुलीले नेपाल पर्यटन बोर्डको यसका लागि कागजात र हस्ताक्षर कीर्ते समेत गरेको आरोप छ ।