बालबालिका विरुद्धको हिंसा र यौन दुर्व्यवहारबारे उजुरी दिने हदम्याद बढाएर तीन वर्ष पुर्याउने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको छ । प्रचलित ऐन अनुसार हाल बालबालिका विरुद्धको हिंसा र यौन दुर्व्यवहारमा उजुरी दिने हदम्याद एक वर्ष छ । हिंसामा परेपछि तत्काल उजुरी दिन नसके वा उजुरी नदिए बालबालिकाले १८ वर्ष उमेर पूरा भएपछि पनि उजुरी दिन सक्छन् ।
१८ वर्ष उमेर पूरा भएपछि उजुरी दिने हदम्याद हाल एक वर्ष छ । यसलाई पनि बढाएर तीन वर्ष पुर्याउने प्रस्ताव नेपाल कानुन आयोगले गरेको हो ।बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ मा बालबालिका सम्बन्धी हिंसाको कसूरको प्रकृतिबारे उल्लेख छ । प्रचलित ऐनकै दफा ७४ मा हिंसाविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्था छ ।
प्रचलित ऐनमा कुनै हदम्याद तोकिएकोमा त्यस्तो हदम्याद र हदम्याद नतोकिएकोमा कसूर भएको मितिले एक वर्षभित्र मुद्दा दायर गर्नुपर्ने प्रचलित ऐनको दफा १ मा छ ।
उपदफा २ मा मुद्दा दायर नगरिएको अवस्थामा प्रचलित कानुन जुनसुकै कुरा लेखिएको भएता पनि बालबालिका विरुद्धको कसूरको सम्बन्धमा मुद्दा दायर गर्ने हदम्याद त्यस्तो बालबालिका १८ वर्ष पूरा भएको मितिले एक वर्ष कायम रहने उल्लेख छ । यसलाई पनि बढाएर उजुरी दिने हदम्याद तीन वर्ष पुर्याउने प्रस्ताव कानुन आयोगको छ ।
यसका लागि कानुन आयोगले यौनजन्य हिंसा विरुद्धको केही नेपाल ऐन संशोधन विधेयक तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ । कानुन आयोगले गरेको विधेयकको मस्यौदा अनुसार ऐन बने बालबालिका विरुद्धको कसूरमा उजुरी दिने हदम्याद त्यस्तो बालबालिका १८ वर्ष उमेर पूरा भएको मितिले तीन वर्ष पुग्नेछ ।


















