रुरुक्षेत्र एक चर्चा

नेपालका आदिम चार धाम मुक्तिक्षेत्र, रुरुक्षेत्र, पशुपतिक्षेत्र र बराहक्षेत्र हुन् । वसन्तको आगमन भएको छ । नेपाली साहित्य रतिरागसंग पनि जोडिएको छ । कामदेवको वाणमा नपर्नेहरु प्राय: कमै हुन्छन् । प्रम्लोचा नामकी स्वर्गकी कन्या परमसुन्दरी भृगु वंशका देवदत्त ऋषिका साथको प्रेम प्रसंगले वृहत्तर रुरु क्षेत्रलाई जन्माएको छ । गुल्मी, स्याङ्गजा र पाल्पाको मिलन केन्द्र रुरु क्षेत्र हो । यसको सिमाना स्याङ्गजाको रुद्रवेणी, भृगुतुंगेश्वर, पाल्पाको रिडीवजार अनि गण्डकीको ऋषिकेश र अर्गली समेतको भूभाग विस्तृत रुपमा रहेको छ । हाम्रो पश्चिम क्षेत्र नेपालको !

कालीगण्डकीको तटमा कन्दमूल खाई दिन विताइरहेका ऋषि देवदत्तले कडा तप गरेको देखेर स्वर्गका राजा इन्द्र डराएछन्, तपोवलले स्वर्ग माथि विजय पाउला भनेर ! काम मोहित पारी तप भङ्ग गर्न सकिएमा त्यो डर घटेर जाने विश्वासका साथ इन्द्रले सवै भन्दा कामुक प्रम्लोचालाई गण्डकीको किनारामा पठाइदिएछन् । प्राचीन समयमा पनि हिजोआजको जस्तो राजनैतिक तँ छाड म छाड् कम थिएन ! राज्य सत्ताको वागडोर सम्हालेका इन्द्रले पठाएकी ती प्रम्लोचा अप्सरा काम मोहित भएर नृत्य प्रस्तुत गर्न लागिछन् । युवा ब्राह्मण देवदत्त कामवाणमा पर्न गएकाले ती युवतीसंग प्रेम बसेछ, सांसारिक जीवन उनैसंग बित्न थालेछ ।

भारतको तुङ्गभद्रा नदी किनारामा विभाण्डक मुनिको आश्रम थियो । विभाण्डकका छोरा थिए श्रृङ्गी ऋषि ! श्रृङ्गि ऋषि तप गर्ने स्थल खोज्दै उत्तराखण्ड रेसुङ्गा लेकमा आइपुगेछन् । वावु विभाण्डक रेसुङ्गा वरिपरिकै क्षेत्रमा तप गर्दै थिए । त्यस क्षेत्रमा अत्यन्त रमणीय ताल थियो । तालमा स्नान गर्नेहरुको भीडमा एक दिन काम मोहित भएछन् ती ऋषि एक युवतीसंग ! युवा ऋषिको वीर्यपात हुँदा पानीमा परेछ । एउटा पोथी मृगले पानी पिउँदा गर्भ रहेछ र कालान्तरमा गैंडाको सिंङ्ग जस्तो एउटा सिंग भएको वालक जन्मेछ । वावु विभाण्डकले यो गुप्त कुरा थाहा पाएर यी आफ्नै सन्तान सम्झी सिँग भएको वालकको नाम श्रृङ्गी भनी राखेछन् । श्रृङ्गीको नाम ऋष्यश्रृङ्ग भएछ, पछि अपभ्रंश हुँदै रेसुङ्गा वन्न पुगेछ । प्राचीन ऋषिहरुको तपस्थली भएकाले यो क्षेत्रको नाम नै रेसुङ्गा भन्न थालिएछ ।

पहिले रेसुङ्गा क्षेत्र वनै वनले ढाकेको थियो । कैयन वन्यजन्तु एवं पशु पन्क्षीको वासस्थल थियो यो ! प्राकृतिक सौन्दर्यले भरिपूर्ण रेसुङ्गा क्षेत्र एउटा तीर्थस्थल हो । पर्यटकहरुको आकर्षणको केन्द्र्रविन्दु हो यो ! रेसुङ्गा तीर्थस्थल नपुग्ने नेपालीहरु सायद् कमै होलान् । यातायातको सुगमता, वुटवल पाल्पा रुरु हुंँदै यहाँ पुग्न सकिन्छ । तम्घासवाट सडकमार्गले छिचोलेको छ । त्यस क्षेत्रमा पवित्र हवन कुण्ड, शिवालय, विष्णु पादुका, सिद्ध स्थान मन्दिर समेतले भक्तजनहरुका लागि थप आकर्षण वनाएको छ । सन्त, माहात्माहरुको कमी छैन त्यँहा ! तम्घास माथिको अग्लो डाँडो नै रेसुङ्गा लेक हो । यो जैविक विविधताको दृष्टिले पनि साह्रै महत्वपूर्ण छ । समुद्र सहतदेखि सात हजार पाँचसय मीटरको उचाइमा रहेको यो क्षेत्र गुल्मीको शिर भाग नै हो ।

हिमवत् खण्ड, नेपाल माहात्म्य, स्कन्द पुराणमा विशद् चर्चा गरिएको रुरु रेसुङ्गा क्षेत्रमा हालसम्म धेरै सिद्ध पुरुषहरुले आफ्नो जीवन समर्पण गरिसकेका छन् । शशिधर स्वामी महाराज, लक्ष्मीनारायण प्रभुजी महाराज, यदुकानन्दजी महाराज, आदि महात्माहरुले आफ्नो त्याग र समर्पण देखाएका छन् यहाँ !
शालिग्राम शिला क्षेत्र मानिने गण्डकी तट मुक्तिक्षेत्रदेखि रुरु रिडी क्षेत्र, देवघाटदेखि त्रिवेणीधाम नवलपरासी क्षेत्र नेपालको पश्चिमक्षेत्रका विशेष नामहरु हुन् । अनेकौं संगम, वेणी, तीर्थ र तनहुँ क्षेत्रमा रहेका अनेकौं गुफाहरुले समस्त राष्ट्रिय, अन्तर्राष्ट्रिय चर्चा पाएका छन् । वेदव्यासको भूमि दमौली एक सुन्दर नगरी नै हो । ने मुनिको नामले नेपालको नामकरण भएको झण्डै ५ हजार वर्ष पुरानो हो । कलियुगको नेपाल सत्य, त्रेता र द्धापरमा पनि अस्तित्वमा थियो । तपो नगरी, सत्यवती क्षेत्र आदिले यसको पुरानो नाम धार्मिक दृष्टिले प्रचलित थियो । पाण्डवहरुको स्वर्ग प्रवेश क्षेत्र पनि नेपालको स्वर्गद्दारी हो ।

शिव र विष्णुमा भेद देख्नाले माथि उल्लेख भएका देवदत्तको तप भंग भएको थियो । इन्द्रले पठाइएकी प्रम्लोचामा आँखा लाग्न पुगेको कारण देवतामा पृथक् धारणा राख्नाले हो । शिव भन्नु कल्याण, विष्णु भन्नु रक्षक ! मानवले अर्थात् नश्वर जीवले शिव र विष्णुमा भेद देख्नु हुंँदैन । शैवहरु वैष्णव हुन् । वैष्णवहरु शैव हुन्, केवल नाम मात्र फरक ! यसर्थ उपर्युक्त क्षेत्र गण्डकीको स्नानपछि शिव लिगंको अर्चना एवं शालिग्रामको वन्दना गर्ने सवै जीवात्माहरुले गतिमुक्ति पाउँछन् । परिवार, सुख, समृद्धि, ऐश्वर्य र शान्ति प्राप्त गर्न सक्छन् । वौद्ध मार्गीहरुको पनि गण्डकी क्षेत्र, मुक्ति क्षेत्र जानेहरुको भीड देखिन्छ । मुक्तिक्षेत्र पुगी अप्पर मुस्ताँग लोमान्थाङ्ग वोर्डरसम्म पुगेर टे«किङ्ग यात्रा पूरा गरी पाल्पा, गुल्मी घुम्न झर्ने विदेशीहरु हामी कहाँ धेरै छन् । पोखरा लगायतका अन्नपूर्ण क्षेत्र अति प्रसिद्ध पर्यटकीय क्षेत्र हो, विश्वभरिकै !

प्रसंग प्रम्लोचाकै छ । प्रम्लोचा गर्भिणी भइन्, उनले एक कन्यालाई जन्म दिइन् । कन्यालाई छोडी प्रम्लोचा स्वर्ग गइन् । जन्मिएकी वालिकालाई रुरु नामक मृगहरुले पाले ! सत्ययुगमा पशुहरु पनि मानव वाल वालिकालाई हेर विचार गर्न सक्थे । रुरु मृगले पालिएकाले कन्याको नाम रुरु नै राखियो । वावुको जीवन संस्कार रुरु कन्यामा रहेकोले गण्डकी आसपासमा उनले आफ्नो दिन बिताइन् ।

आध्यात्मिक, धार्मिक संस्कार प्रसस्त थियो रुरु कन्यामा ! रुरु कन्याले कठोर थप गर्न थालिन् । कालान्तरमा शरीर जीर्ण भएर अंगहरु गल्न थालेपछि ईश्वरको प्रत्यक्ष दर्शन मिल्यो उनलाई । इच्छाअनुसारको वरदान माग्न भनेपछि रुरु कन्याले यो पुरै क्षेत्र रुरु क्षेत्र होस्, पावन यस क्षेत्रमा आउनेहरु सवैको उद्धार होस् । रुरु कन्याले भाव विभोर भएर परमेश्वरसंग पुकार गरिन् – साँच्चै हजूर मसंग खुशी हुनुहुन्छ भने हजूर यहाँ ऋषिकेशको नामले वस्नुहोस् । परमेश्वर शंख, चक्र, गदा, पद्य स्वरुप भगवानले हुन्छ भन्नु भयो । त्यसवेलादेखि यो क्षेत्र ऋषिकेश क्षेत्र भयो । ती कन्यालाई दिएको वरदानअनुसार परमेश्वर कालीगण्डकीमा प्रवेशद्दार भएर शिलामूर्ति हुन थाल्नु भयो । भनिन्छ– रुरु क्षेत्रमा कालीगण्डकी स्नान गर्दा मणिमुकुन्द सेन राजाले भगवान् ऋषिकेशको मूर्ति पाएका थिए रे !

राजाले दरवार लगेर स्थापना गर्न लाग्दा सपनामा यसो नगर्न आदेश भएको थियो रे ! पछि ती राजा मणिमुकुन्द सेनले कालीगण्डकीको संगम नजीकै डाँडामा मन्दिर वनाई ईश्वरको स्थापना गरेका हुन् भन्ने जनश्रुति अद्यापि छ । हामी हरिद्धार क्षेत्र ऋषिकेश आश्रम सम्म पुग्न लालयित हुन्छौं । हुन पनि वद्रीनाथ जाने प्रवेश मार्गमा भगवान् ऋषिकेशको भव्य क्षेत्र छ– यो भारतको कुरा हो । आफ्नै क्षेत्र नजीकै रहेको ऋषिकेश क्षेत्रमा पुग्न सकेमा पनि हाम्रो आन्तरिक पर्यटन प्रवद्र्धन त हुन्छ नै । देवत्वको क्षेत्र नेपालको आफ्नो महत्व र गरिमाको पनि श्रीवृद्धि हुन्छ । नेपालमा त्यस्तो कुनै स्थान नै छैन जहाँ तीर्थ, मठ, मन्दिर र कला कौशलता नभएको होस् ! नयाँ वसन्तको आगमनसंगै वैदिक सनातनीहरुले बुभ्mनै पर्ने पावन रुरुक्षेत्रको चर्चा यत्ति नै ।