अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीका क्रममा काबुल विमानस्थल बाहिर आत्मघाती बम विस्फोटका लागि जिम्मेवार इस्लामिक स्टेटका एक लडाकूलाई पक्राउ गरिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताएको छ ।
सन् २०२१ अगस्ट २६ मा अफगानिस्तानबाट भाग्ने प्रयासमा रहेका एक बम हमलाकारीले भिडको बीचमा विस्फोट गराएका थिए । सो विस्फोटमा करिब एक सय ७० अफगान र १३ अमेरिकी सैनिक मारिएका थिए । सन् २०२३ अप्रिलमा ह्वाइट हाउसले अफगानिस्तानको नयाँ तालिबान सरकारले गरेको कारबाहीमा आक्रमणको षड्यन्त्रमा संलग्न इस्लामिक स्टेटका एक अधिकारी मारिएको घोषणा गरेको थियो ।
मङ्गलबार दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्केपछि संसदको संयुक्त सदनलाई आफ्नो पहिलो सम्बोधनमा ट्रम्पले पाकिस्तानले ‘त्यस अत्याचारका लागि जिम्मेवार शीर्ष आतङ्ककारी’ को गिरफ्तारीमा सहयोग गरेको घोषणा गरे ।
“र उ अहिले अमेरिकी न्यायको तीव्र तरवारको सामना गर्न यहाँ आउँदै छ”, उनले आफ्ना पूर्ववर्ती जो बाइडेनको ‘अफगानिस्तानबाट विनाशकारी र अयोग्य फिर्ती’ प्रति कटाक्ष गर्दै भने । उनले पाकिस्तानलाई ‘यस राक्षसलाई पक्राउ गर्न मद्दत गरेकामा’ धन्यवाद दिनुभयो तर सन्दिग्ध वा पक्राउ कारबाहीको कुनै विवरण दिएन ।
अमेरिकी समाचार प्लेटफर्म एक्सियोसको एक रिपोर्टले संदिग्धलाई जाफर पनि भनेर चिनिने अफगानिस्तान र पाकिस्तानमा इस्लामिक स्टेट शाखाका नेता मोहम्मद सरिफुल्लाह भनेर पहिचान गरेको छ ।
दुई अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियोसले सरिफुल्लाहलाई पाकिस्तानबाट संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्ने प्रक्रियामा रहेको र बुधबार आइपुग्ने अपेक्षा गरिएको बताए ।


















