अन्तत: राप्रपाले तिर्‍यो महानगरपालिकालाई १ लाख रुपैयाँ जरिबाना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ महानगरपालिकाले लगाएको एक लाख रुपैयाँ जरिवाना तिरेको छ। ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको पार्टीले यसअघि जरिवाना पक्षपातपूर्ण भएको गुनासो गरेको थियो। तर, पार्टीभित्रका आन्तरिक छलफलपछि राप्रपाले भुक्तानी रकम तिर्ने निर्णय लिएको एक नेताले बताए ।

सोही अनुसार सोमबार रकम भुक्तानी गरिएको राप्रपाको भनाइ छ । काठमाडौँ महानगरपालिकाले राप्रपाले तिरेका जरिबाना रकमको रसिद समेत जारी गरेको छ। रकम तिरेपछि शाहीले फेसबुकमा लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ । रु १ लाख हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।’

यसअघि राप्रपाले उक्त रकम नतिर्ने सार्वजनिक भएपछि सो पार्टीको आलोचना समेत भएको थियो । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थल क्षेत्रमा स्वागत गर्ने क्रममा फोहोर गरेको भन्दै महानगरपालिकाले राप्रपालाई जरिवाना गरेको थियो । पूर्वराजालाई स्वागत गर्न राप्रपासहितका राजावादी सो क्षेत्रमा भेला भएका थिए ।