लखनउमा अवतरण गरेको विमानमा मृ#त भेटिए एक यात्री

भारतको लखनउमा शुक्रबार बिहान अवतरण भएको एउटा विमानमा एक जना यात्री मृत फेला परेका छन् । उत्तर प्रदेश राज्यको राजधानीसमेत रहेको लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको फ्लाइट ‘एआई २८४५’ बिहान स्थानीय समयअनुसार ८: १० बजे अवतरण गरेको हो ।

विमान अवतरण भइसकेपछि चालक दलका सदस्यले यात्रीलाई सिट बेल्ट खोलेर उत्रिनका लागि सूचित गरेका थिए । यसै क्रममा आसिफउल्ला अन्सारी नाम गरेका यात्री आफ्नो सिटबाट नउठेपछि चालक दलका सदस्य नजिकै पुगेर उनलाई बोलाएका थिए । कुनै प्रतिक्रिया नजनाएपछि चिकित्सकलाई बोलाइएको थियो । चिकित्सकले ती यात्रीको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

आसिफउल्लाको मृत्यु कसरी भयो भन्नेबारे खुल्न सकेको छैन । उनले आफ्नो सिटबेल्ट समेत नखोलेका कारण यात्राकै क्रममा मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । आसिफउल्लाको शव परीक्षणका लागि अस्पताल पठाइएको छ । शव परीक्षणपछि मृत्युको कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।